काठमाडौँ- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारले नीति तथा कार्यक्रममा कृषि, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा ‘मेड इन मधेश, समृद्ध प्रदेश’ तथा ‘उद्यमशील मधेश, आत्मनिर्भर देश’ जस्ता आकर्षक नाराहरू समेटिएका छन्।
नीति तथा कार्यक्रममार्फत सरकारले उत्पादन वृद्धि र स्थानीय उद्यम प्रवद्र्धनमा जोड दिएको छ।
त्यस्तै कृषि क्षेत्रलाई प्राथमिकताका दिँदै ‘किसानको शान, मधेशको मखान’ नारासहित मखानको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने लक्ष्य सरकारले राखेको छ। यसबाट स्थानीय उत्पादनको बजार विस्तार तथा किसानको आयवृद्धि हुने सरकारले विश्वास लिएको छ।
त्यस्तै ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’ भन्ने नारालाई सार्थक बनाउन स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य सरकारले लिएको छ। यस कार्यक्रमअन्तर्गत कम्तीमा एक हजार जनालाई रोजगारी प्रदान गर्ने रोजगारदाता तथा उद्योगीहरूलाई प्रदेश सरकारको तर्फबाट ‘रोजगारदाता सम्मान’ प्रदान गर्ने कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।
स्वदेशी कच्चा पदार्थमा आधारित नवउद्यमी र युवाहरूलाई प्रोत्साहन गर्न ‘मधेश स्टार्टअप फन्ड’ मार्फत प्रविधि सहयोग, सहुलियतपूर्ण ऋण र अनुदान उपलब्ध गराउने योजना ल्याइने नीति तथा कार्यक्रममा भनिएको छ।
प्रदेशको आन्तरिक करको दायरा विसतार गर्न ‘राजस्व सुधार कार्यक्रम’ सञ्चालन गरी वित्तीय हस्तान्तरण, समानीकरण तथा सशर्त अनुदानको न्यायोचित व्यवस्थापन र आन्तरिक ऋण परिचालनका लागि संघीय सरकारसँग समन्वय गर्ने लक्ष्य सरकारले लिएको छ।




