काठमाडौँ- सामुदायिक विद्यालयको आधारभूत तहमा महिला शिक्षकको संख्या उत्साहजनक रहेको छ। बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दा उक्त आँकडा सार्वजनिक गरेका हुन्।
आर्थिक सर्वेक्षण अनुसार आधारभूत तह (कक्षा १-८) मा महिला शिक्षकको अनुपात ४९.१ प्रतिशत पुगेको छ। यो अनुपात पुरुष शिक्षकको संख्यासँग करिब बराबरीको अवस्था हो। यद्यपि, माध्यमिक तह (कक्षा ९-१२) मा भने महिला शिक्षकको उपस्थिति निकै कमजोर अर्थात् मात्र २२.९ प्रतिशत रहेको छ।
विगतका वर्षहरूको तथ्यांकलाई हेर्दा आधारभूत तहमा महिला शिक्षकको अनुपात २०७८ मा ४६.५प्रतिशत, २०७९ मा ४७.२प्रतिशत, २०८० मा ५४.१प्रतिशत (उच्चतम) र २०८१ मा ४८.९प्रतिशत हुँदै २०८२ मा ४९.१प्रतिशत पुगेको छ। माध्यमिक तहमा भने यो अनुपात विगत ५ वर्षदेखि १७प्रतिशत देखि २२प्रतिशत को सुस्त वरपर नै सिमित रहेको छ।
प्रतिवेदनको बुँदा ११.२९ अनुसार आधारभूत तह (कक्षा १-५) मा कार्यरत शिक्षकमध्ये महिला शिक्षकको लैंगिक समता सूचकांक पुरुषको भन्दा बढी रहेको छ। विशेषगरी निजी वा संस्थागत विद्यालयहरूमा यो अनुपात निकै उच्च देखिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (२०८२) लाई स्रोत मानिएको यस तथ्यांकले प्राथमिक र तल्लो आधारभूत तहमा महिला शिक्षकको आकर्षण र पहुँच राम्रो भए पनि माध्यमिक तहको प्राध्यापनमा महिलाको सहभागिता बढाउन अझै विशेष नीति र प्रोत्साहनको आवश्यकता रहेको औंल्याएको छ।




