विद्युतीय सवारीसाधन (ईभी) र प्लग–इन हाइब्रिड गाडीहरूले यस वर्ष विश्वव्यापी कार बिक्रीको झन्डै ३० प्रतिशत हिस्सा ओगट्ने अपेक्षा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले गरेको छ। पश्चिम एसियाको ऊर्जा संकट र ब्याट्रीको मूल्यमा आएको गिरावटका कारण ईभीको माग बढ्दै गएको हो।
तेलको मूल्य वृद्धि ईभीको माग बढ्नुको अर्को कारण बन्ने अपेक्षा गरिएको छ। तर आईईएको पछिल्लो प्रतिवेदनले इरानसँगको युद्धले विश्व अर्थतन्त्रमा पार्न सक्ने प्रभावका कारण उपभोक्ता खर्चमा कमी आउन सक्ने चेतावनी पनि दिएको छ।
युरोपमा ईभीको उपभोग उल्लेखनीय वृद्धि देखिएको छ। सन् २०२६ मा ईभी र प्लग–इन हाइब्रिडको बिक्री करिब २० प्रतिशतले बढ्ने अनुमान छ। यससँगै बिक्री हुने प्रत्येक तीनमध्ये एक कार विद्युतीय हुने देखिन्छ।
विश्वव्यापी रूपमा विद्युतीय कारको बिक्री सन् २०२५ मा २० प्रतिशतले बढेर दुई करोडभन्दा बढी पुगेको थियो। जसले कुल नयाँ कार बिक्रीको करिब एक चौथाइ हिस्सा ओगटेको छ। यो संख्या यस वर्ष २.३ करोडसम्म पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी एसिया–प्रशान्त क्षेत्रमा ५० प्रतिशतभन्दा बढी र ल्याटिन अमेरिकामा ४५ प्रतिशतभन्दा बढी वृद्धि हुने अनुमान छ।
आईईएका प्रमुख ऊर्जा प्रविधि अधिकारी तिमुर गुलले भने, ‘अबका दिनमा नीति निर्माताहरूले ऊर्जा सुरक्षालाई सुदृढ बनाउने र यस्ता संकटबाट उपभोक्ता तथा अर्थतन्त्रलाई जोगाउने संरचनात्मक अवसर खोज्ने सम्भावना छ।’
उनका अनुसार दक्षिणपूर्वी एसियाका केही देशहरूले पहिले नै ईभी कर छुट विस्तार वा थप गरिरहेका छन्। अन्य देशहरूले पनि त्यसैलाई पछ्याउन सक्छन्।
यद्यपि सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी ईभी बिक्री आठ प्रतिशतले घटेको थियो, जसको मुख्य कारण चीन र अमेरिकामा दिइएका अनुदान कटौती थियो। तर सस्तो ईभी मोडेलहरूको विस्तारसँगै बिक्री पुनः वृद्धि हुने अपेक्षा गरिएको छ।
युरोपमा सन् २०२५ मा पेट्रोल गाडीको तुलनामा औसत मूल्यभन्दा कम मूल्यका पूर्ण विद्युतीय गाडीहरूको हिस्सा ३० प्रतिशतभन्दा माथि पुगेको छ, जुन सन् २०२१ मा करिब १५ प्रतिशत मात्र थियो। चीनमा पनि गत वर्ष औसत ईभीको मूल्य १० प्रतिशतभन्दा बढी घटेको छ।
यो विद्युतीय रूपान्तरण चीनमा बनेका ईभी र प्लग–इन हाइब्रिडहरूको तीव्र निर्यातका कारण पनि तीव्र बनेको हो। विश्वको सबैभन्दा ठूलो कार बजारमा बीवाईडीलगायतका कम्पनीहरू कडा मूल्य प्रतिस्पर्धाको दबाबमा परेका छन्।
चीनले सन् २०२५ मा विश्वको कुल ईभी उत्पादनको करिब तीनचौथाइ हिस्सा ओगटेको थियो। चिनियाँ ईभी निर्यात दोब्बर भई नयाँ कीर्तिमान कायम गरेको छ।
यी निर्यातका कारण दक्षिणपूर्वी एसियामा ईभीको बजार हिस्सा सन् २०३५ सम्म ६० प्रतिशत पुग्ने अनुमान गरिएको छ।
यद्यपि विद्युतीय रूपान्तरणको सम्भावना सकारात्मक भए पनि आईईएले हालको ऊर्जा संकटका पूर्ण प्रभावहरू मूल्यांकन गर्न अझै समय लाग्ने चेतावनी दिएको छ। ‘पश्चिमएसियाको द्वन्द्वको व्यापक आर्थिक असरले समग्र कार बिक्रीलाई केही सुस्त बनाउन सक्छ,’ प्रतिवेदनमा उल्लेख छ।




