मकालु वरुण राष्ट्रिय निकुञ्जले खुला गर्‍यो यार्सागुम्बा संकलन

हिमाल प्रेस १४ जेठ २०८३ ८:१७ | Thursday, May 28, 2026
6
SHARES
मकालु वरुण राष्ट्रिय निकुञ्जले खुला गर्‍यो यार्सागुम्बा संकलन

संखुवासभा- यहाँको मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन खुला गर्ने जनाएको छ। निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्म यार्सागुम्बा संकलन गर्न अनुमति दिएको बताए । उनका अनुसार यहाँ निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइने गरेका छ ।

यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय भोटखोला गाउँपालिका–३, सेदुवा सेक्टर कार्यालय मकालु–२, गोला पोष्ट भोटखोला–४, ताम्कू सेक्टर कार्यालय सिलिचोङ–३, बुङ सेक्टर कार्यालय महाकुलुङ–१ बुङ, सोलुखुम्बु र छेस्काम रेञ्पोष्ट महाकुलुङ–३ सोलुखुम्बुमार्फत पुर्जी दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

अनुमति लिएका व्यक्ति वा समूहले जेठ २५ गतेदेखि असार २५ गतेसम्म यार्सा संकलन गर्न पाउने छन् । यार्सागुम्बा संकलन गर्न जाँदा संकलन पुर्जी, प्राथमिक उपचार सामग्री तथा औषधि, खाना पकाउन ग्यास वा स्टोभ, बस्नका लागि त्रिपाललगायत सामग्री लैजान अनुमति दिइएको सूचना अधिकारी सुवेदीले बताए ।

यार्सागुम्बा संकलनका क्रममा विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउड स्पिकर, ड्रमसेटजस्ता कुरा लैजान प्रतिबन्ध लगाइएको उनले जानकारी दिए । यहाँका मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका र सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ ।

यार्सागुम्बा उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ ।

यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई पाँच सय, मध्यवर्ती क्षेत्र बाहिरका संखुवासभा र सोलुखुम्बुका लागि रु दुई हजार तथा जिल्ला बाहिरका लागि रु तीन हजार प्रवेश शुल्क तोकिएको मकालु वरुण राष्ट्रिय निकुञ्जले जनाएको छ । रासस

 

प्रकाशित: १४ जेठ २०८३ ८:१७ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast