बेमौसमी वर्षाले २६ घर उच्च जोखिममा, ७० घर पहिरोको जोखिममा

हिमाल प्रेस १४ जेठ २०८३ ६:४० | Thursday, May 28, 2026
6
SHARES
बेमौसमी वर्षाले २६ घर उच्च जोखिममा, ७० घर पहिरोको जोखिममा

पाँचथर- जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ ।

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित भएका छन् । यहाँका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन् । जहाँ २६ घर उच्च जोखिममा रहेका र करिब ७० घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिए ।

पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा कोप्चेको गङ्गाराम बेघाको घर बगाएको थियो । अन्य घरहरू नबगाए पनि जोखिमपूर्ण अवस्थामा रहेको खालिङको भनाइ छ । “कसैको घरमाथि पहिरो छ त कसैको घरमुनिबाट पहिरो गएको थियो”, उनले भने, “पानी पर्‍यो कि सबैजना त्राहिमान हुने अवस्था छ, सुरक्षित स्थानतर्फ भाग्नुपर्ने स्थिति रहेको छ । यहाँ बाढी पहिरोले मानवीय क्षति नभएपछि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन र अलैँची बगानमा क्षति पुगेको छ ।”

च्याङथापूमा तीन वर्षअघि पनि भीषण वर्षापछि पहिरो गएको थियो । विसं २०८० असार ३ मा यहाँको मेवाखोलासहितका खोलामा बाढी आउनुका साथै धेरै स्थानमा पहिरो गएको थियो । त्यसबेला यहाँको चोक, खोलाघारी, एकरातेलगायत टोल प्रभावित भएका थिए, तर तीन वर्षपछि पहिलेभन्दा ठुलो वर्षा भएको र बाढीपहिरो गएको थियो । वडाध्यक्ष खालिङले भने ,“तीन वर्षअघि जसरी पहिरोले धुजाधुजा पारेको थियो, हाल त्यस्तै अवस्था आएको छ । हामीलाई प्रकृतिले पीडामाथि पीडा दिइरहेको छ ।”

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङ पहिरो प्रभावित क्षेत्रमा त्रासको अवस्था रहेको बताउँछन् । “बादल लाग्यो कि दिउँसै पनि भाग्ने अवस्था छ । यहाँ जताततै पहिरो गएको छ । बाढीले खोलाकिनारका सबै संरचना बगाएको छ”, उनले भने ।

बाढी पहिरोले यहाँका आठ वटा सिँचाइ योजना, तीन वटा खानेपानी योजना ध्वस्त भएका र तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको गुरुङले बताए । बाढी पहिरोले पुष्पलाल (मध्यपहाडी) राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ–फालोट मोटरबाटो, च्याङथापू–समरजुङ र च्याङथापू–लामपोखरी मोटरबाटोमा धेरै क्षति पुगेको छ । च्याङथापू–लामपोखरी मोटरबाटो अवरुद्ध हुँदा सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी) मा सामग्री ढुवानी गर्न नसकिने अवस्था आएको छ ।

बाटो नै नभएपछि यहाँका ५० जनाभन्दा बढी विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने गर्भवतीको नियमित परीक्षण प्रभावित भएको छ । तीन वर्षअघिको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नहुँदै पुनः क्षति भएपछि यहाँका सरोकार भएकाहरूले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिरहेका छन् ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले वडा नं १, २ र ३ मा अत्यधिक क्षति पुर्‍याएको छ भने वडा नं ४ र ५ मा सामान्य आंशिक क्षति पुगेको छ । वडा कार्यालयहरूले अझै क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । बाढीपहिरोपछि यस गाउँपालिकाका सबै वडालाई जोड्ने पुष्पलाल ९मध्यपहाडी० राजमार्गको ओयाम–च्याङथापू–चिवाभञ्ज्याङ खण्ड अवरुद्ध छ । अवरुद्ध राजमार्गलाई ओयामबाट खुलाउन सुरुआत गरिएको छ । “बाटो सफा गरेर वडा नं ३ को फलामखोलासम्म सम्पर्क स्थापित गरेका छौँ । बाँकी काम भइरहेको छ”, उपाध्यक्ष मेन्याङ्बोले भनिन् ।

सडक अवरुद्ध भएपछि च्याङथापू र फलैँचा पुग्न नसकिएको र राहत वितरण पनि हुन नसकेको उनले बताइन् । “हामी ओयामदेखि माथि जाने अवस्था छैन । हाल त्यहाँका जनप्रतिनिधिलाई नै क्षतिको विवरण सङ्कलनलगायत काम गर्न भनेका छौँ”, उपाध्यक्ष मेन्याङ्बोले भनिन्।

 

प्रकाशित: १४ जेठ २०८३ ६:४० | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast