ग्रीनल्यान्डको शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थी, पत्रकार र कलाकार सम्मानित

हिमाल प्रेस १० जेठ २०८३ १६:४९ | Sunday, May 24, 2026
20
SHARES
ग्रीनल्यान्डको शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थी, पत्रकार र कलाकार सम्मानित

सुर्खेत- वीरेन्द्रनगर-३, तातापानीस्थित ग्रीनल्यान्ड एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयले लगातार तेस्रो वर्ष उत्कृष्ट नतिजा कायम राख्दै यस वर्ष दुई विद्यार्थीले ४ जीपीए प्राप्त गरेको जनाएको छ।

शनिबार आयोजित सम्मान तथा अभिभावक उत्प्रेरणा कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, पत्रकार र कलाकारलाई नगद, प्रमाणपत्र, माला तथा दोसल्लासहित सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयले ‘ग्रीनल्यान्ड शिक्षा पत्रकारिता पुरस्कार-२०८२’ र ‘मोतिपुरा स्मृति प्रतिभा पुरस्कार-२०८२’ समेत प्रदान गरेको छ।

विद्यालयका अनुसार एसईईमा सहभागी सबै ३० विद्यार्थी उत्तीर्ण भएका छन्। छात्र विमल तिमिल्सेना र छात्रा सन्ध्या खड्काले ४ जीपीए प्राप्त गरेका छन् भने अन्य विद्यार्थीले ३ देखि ३.९५ जीपीएसम्म हासिल गरेका छन्। दुवै उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो।

ग्रीनल्यान्ड एकेडेमीले २०८० सालदेखि एसईईमा सहभागिता जनाउन थालेको हो। पहिलो वर्षमै कर्णाली प्रदेशस्तरमा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले जनाएको छ। सो वर्ष छात्रा स्मारिका शाहीले ३.९५ जीपीए ल्याउँदै छात्रातर्फ कर्णाली प्रदेश प्रथम बनेकी थिइन्। त्यसयता विद्यालयले निरन्तर शतप्रतिशत नतिजा कायम राख्दै आएको दाबी गरेको छ।

यस वर्षको ‘ग्रीनल्यान्ड शिक्षा पत्रकारिता पुरस्कार-२०८२’ हिमालप्रेसकर्मी रमा केसीलाई प्रदान गरिएको छ भने ‘मोतिपुरा स्मृति प्रतिभा पुरस्कार-२०८२’ कलाकार नन्दा बस्याललाई प्रदान गरिएको छ।

शिक्षा, पत्रकारिता र कला क्षेत्रमार्फत समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको विद्यालयले जनाएको छ। विद्यालय क्षेत्रबाट यस प्रकारको पुरस्कार कर्णाली प्रदेशमै पहिलोपटक स्थापना गरिएको दाबी पनि गरिएको छ।

कार्यक्रममा विद्यालयका प्रबन्धक प्रकाश शाहीले विद्यालय अरूसँगभन्दा आफ्नै नतिजासँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेको बताए। विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासका कारण निरन्तर सकारात्मक शैक्षिक उपलब्धि हासिल भइरहेको उनको भनाइ थियो। गुणस्तरीय शिक्षण पद्धति, अनुशासन र विद्यार्थीमैत्री वातावरणलाई विद्यालयले प्राथमिकतामा राखेको उनले बताए।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले समयअनुकूल शिक्षण प्रणाली र प्रविधिमैत्री अभ्यासलाई विद्यालयले प्रभावकारी रूपमा अघि बढाएको बताए। उनले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

रंगकर्मी प्रेमदेव गिरीले विद्यालयले विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। प्रधानाध्यापक ज्योति पौडेलले १३ वर्षको यात्रामा विभिन्न चुनौती पार गर्दै गुणस्तरीय शिक्षालाई निरन्तरता दिन सफल भएको बताइन्। शैक्षिक उपलब्धिसँगै सहशैक्षिक तथा अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले उल्लेखनीय प्रदर्शन गर्दै आएको उनको भनाइ थियो।

हाल विद्यालयमा पीजीदेखि कक्षा १० सम्म अध्ययनअध्यापन भइरहेको छ। स्थापना हुँदा ३३ विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल करिब १,३०० विद्यार्थी अध्ययनरत छन्। आगामी शैक्षिक सत्रदेखि व्यावसायिक शिक्षासहित कक्षा ११ र १२ सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ।

विद्यालयमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, स्मार्ट कक्षा, खेलमैदान, क्यान्टिन र बस सेवा उपलब्ध छन्। अन्तरक्रियामूलक सिकाइ, डिजिटल उपकरणको प्रयोग तथा प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिइँदै आएको विद्यालयको भनाइ छ। हाल विद्यालयमा ४० भन्दा बढी शिक्षक कार्यरत छन्।

अतिरिक्त क्रियाकलापअन्तर्गत वादविवाद, विज्ञान प्रदर्शनी, खेलकुद, नृत्य, संगीत तथा नेतृत्व विकासका कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन्। धूम्रपान तथा मद्यपानविरुद्ध सचेतना, महिनावारी सरसफाइ, वृक्षारोपण, स्वास्थ्य परीक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई पनि निरन्तरता दिइएको विद्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक उपलब्धि, अनुशासन र विद्यार्थीमैत्री वातावरणको प्रशंसा गरेका थिए। उनीहरूले शिक्षक र विद्यालय प्रशासनसँगको नियमित समन्वयले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पारेको बताएका थिए।

प्रकाशित: १० जेठ २०८३ १६:४९ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast