पोखरा- पोखराको बजार हुँदै बग्ने फिर्के खोलाको खोलाघर मिचेर बनाइएका संरचनामाथि आजदेखि डोजर चलाइने भएको छ । पोखरा महानगरपालिकाले बिहान १० बजेदेखि विभिन्न ३ स्थानबाट डोजर चलाउने तयारी गरेको छ। त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य, सचिव तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागि महानगरले अनुरोध गरेको छ ।
खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजनाबारे व्यापक छलफल गरी योजनाबद्ध रुपमा कार्यान्वयन गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् । उनका अनुसार आजदेखि खाली गराउन सुरु गरिने क्षेत्र खोलाघरभित्रको भाग हो । डोजर चलाउने बेलामा कसैको हस्तक्षेप हुने विषयलाई उनले ‘खोला कसैको निजी सम्पत्ति हुन सक्दैन’ भन्ने विषयलाई पटकपटक उठाउने गरेका छन् ।
डोजर चलाउनुपूर्व विभाजन गरिएका ३ केन्द्रहरुमा अँधेरीकुना केन्द्र (विन्ध्यवासिनी मन्दिरभन्दा पश्चिम), बूढानीलकण्ठ मन्दिर केन्द्र (फिर्के पुल) र जिरो किलोमिटर केन्द्र (पृथ्वी राजमार्ग बस संचालक कम्पनीको कार्यालय अगाडि) हुन्।
पोखराको वडा नम्बर १८, अँधेरीकुनाबाट सुरु हुने फिर्केखोलाले पोखराका ३३ वडाहरुमध्ये ८ वटा वडाहरु छुन्छ । १८ वडाबाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भइ बग्छ। फेवातालमा मिसिने फिर्केखोला केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने खोला रहेको बूढापाका बताउँछन् । बढ्दो सहरीकरणका कारण यो क्रमशः दुर्गन्धित र अतिक्रमणको पर्दै गएको छ।
यसअघिको नापजाँचमा खोलाघर मिचेर बनाइएका १ सय ६० संरचना रहेको पाइएको थियो । ती संरचना हटाउनेबारे पोखरा महानगरले २०८० सालमा पनि प्रयास थालेको थियो। तर उच्च अदालत पोखरामा रिट प¥यो । लामो समयपछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः महानगर अघि बढेको हो। हालैमात्र महानगरले अवैध संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । जसको म्याद ९ जेठमा सकिएको छ।




