काठमाडौँ- काठमाडौँस्थित अमेरिकी राजदूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले सगरमाथाको सफल आरोहण गरेका छन्।
उनले गत २० मेका दिन बिहान ९ः१० बजे सगरमाथाको उच्च विन्दुमा पाइला टेकेको दूतावासले जनाएको छ।
यो सफलतासँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला अमेरिकी परराष्ट्र सेवाका अधिकारी बनेका छन्। अमेरिकी स्वतन्त्रताको २५० औ वार्षिकोत्सवको पूर्वसन्ध्यामा यो ऐतिहासिक उपलब्धि रहेको दूतावासको भनाइ छ।
दूतावासका अनुसार हार्करले आफ्नो व्यक्तिगत प्रयास र खर्चमा यो आरोहण गरेका हुन्। उनको यो यात्रा सन् २००६ मा अन्नपूर्ण आधार शिविरको ट्रेकिङबाट सुरू भएको थियो। करिब २० वर्ष लामो साधना र पर्खाइपछि सगरमाथा आरोहण गर्ने हार्करको सपना साकार भएको छ।
यो सफल आरोहणले नेपाल र अमेरिकाबीचको झन्डै आठ दशक लामो मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको दूतावासले जनाएको छ। साथै दिगो साहसिक पर्यटनले विश्वव्यापी सम्बन्धहरूलाई सुदृढ बनाउनुका साथै अर्थतन्त्रलाई टेवा पु¥याउने सन्देशसमेत यो पहलले दिएको दूतावासको भनाइ छ।
आरोहणका क्रममा हार्करले नेपाली शेर्पा समुदायको साहस, विश्वस्तरीय विज्ञता र समर्पणको प्रशंसा गरेका छन्। हिमाली पर्वतारोहणको वास्तविक मेरुदण्ड शेर्पा समुदाय नै रहेको र उनीहरूको सहयोगविना यो उपलब्धि असम्भव हुने उनले बताएका छन्।




