सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना
काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री तिमिल्सिनाले डिजिटल पार्क, उच्च क्षमताका डाटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताए।
उनले गैरआवासीय नेपाली र डायस्पोराको सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले सहजीकरण गर्ने बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले दुर्गमदेखि सहरी क्षेत्रसम्म भरपर्दो, गुणस्तरीय र पहुँचयोग्य दूरसञ्चार सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताए। उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारको कुनै मनसाय नरहेको उल्लेख गरे।
बैठकमा समिति सदस्यहरुले सूचना प्रविधि क्षेत्रका लागि पर्याप्त नदेखिएको र कानुन संशोधन आवश्यक रहेको धारणा राखेका थिए।




