काठमाडौँ– पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रमपूर्ण र चरित्रहत्या गर्ने प्रकृतिको रहेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन्।
‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचार तथ्यहीन रहेको दाबी गर्दै उनले उक्त सामग्रीले आफ्नो व्यक्तिगत चरित्रमा गम्भीर क्षति पुर्याएको बताएका छन्।
गुरुङले सो समाचार प्रकाशित गर्ने पत्रकार दिनेश थापाविरुद्ध कानुनबमोजिम कारबाही र सजायको माग गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका हुन्।
उनले आफू पारिवारिक भ्रमणमा गएको घटनालाई गलत तरिकाले प्रस्तुत गरी पीत पत्रकारिता गरिएको आरोपसमेत लगाउँदै सम्बन्धित पक्षमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।




