दुईदिने बिदा लागू गर्न विद्यालयलाई निर्देशन, हिउँदे-वर्षे बिदा घटाएर ३० दिन कायम गरिने

हिमाल प्रेस ८ जेठ २०८३ १०:५६ | Friday, May 22, 2026
150
SHARES
दुईदिने बिदा लागू गर्न विद्यालयलाई निर्देशन, हिउँदे-वर्षे बिदा घटाएर ३० दिन कायम गरिने

भक्तपुर- नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि विद्यालयमा हप्तामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) लागू गर्ने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र सबै विद्यालयलाई पत्राचार गर्दै मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा.श्यामप्रसाद आचार्यद्वारा जारी पत्रमा निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।

केन्द्रका अनुसार दुईदिने बिदाका कारण घट्ने कार्यघण्टा पूर्ति गर्न विद्यालयहरूले दैनिक पठनपाठनको समय व्यवस्थापन गर्नुपर्नेछ। यसका लागि प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय निर्धारण गरी सोमबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा पठनपाठनसम्बन्धी गतिविधि सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनअनुसार हाल कायम ४५ दिनको हिउँदे तथा वर्षे बिदा अवधि घटाएर ३० दिनमा सीमित गरिनेछ। यस्तै, पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्यांकन नियमित कक्षा सञ्चालन भएकै दिन वा पठनपाठनमा असर नपर्ने समयमा गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि भने शैक्षिक सत्रका अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ।

विद्यालय शिक्षालाई थप व्यवहारिक र सिर्जनात्मक बनाउन प्रत्येक शुक्रबार विद्यार्थीलाई समुदाय, परिवार, सन्दर्भ सामग्री तथा सूचना प्रविधिसँग सम्बन्धित बहुविषयक परियोजना तथा प्रयोगात्मक कार्य दिनुपर्ने व्यवस्था पनि गरिएको छ। आवश्यकताअनुसार विद्यार्थीलाई ती परियोजनाको प्रस्तुति गर्ने अवसर उपलब्ध गराउनुपर्ने केन्द्रले जनाएको छ।

परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रले तयार गरेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ लाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ। स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमअनुसार परियोजना तयार गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

प्रकाशित: ८ जेठ २०८३ १०:५६ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast