काठमाडौँ- शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।
बिहीबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १२८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे।
त्यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख खापुङलाई नीति तथा कार्यक्रम सम्बोधनका लागि हस्तान्तरण गरेका थिए। स्वच्छ, सुखी र समुन्नत प्रदेश भन्ने नारासहित कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सेवाप्रवाहलाई चुस्त, जिम्मेवार र जवाफदेही बनाउनेदेखि प्रदेशप्रतिको आस्था र विश्वास बढाउन काम र व्यवहार परिवर्तन गर्ने नीति राखिएको छ।
विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै ल्याइएको नीति तथा कार्यक्रममा बसाइसराइ न्यूनीकरण, जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक र्पूवाधार निर्माण जस्ता कार्यक्रम थप गरिएको कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताए।
यसैगरी नीति तथा कार्यक्रममा २०८३ साउन देखि २०८५ असारसम्मलाई कोशी प्रदेश भ्रमण वर्ष मनाइने, धार्मिक परिपथको सम्भाव्यता अध्ययन जस्ता नयाँ कार्यक्रम पनि समेटिएको छ।
एकल बिन्दु सेवाप्रवाह प्रणाली, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, म अघि बढ्छु, कोशी जनता आवास कार्यक्रम, एक घर एक धारा जस्ता कार्यक्रमहरु समावेश गरिएका नीति तथा कार्यक्रममा राजस्व चुहावट नियन्त्रण गर्दै चालु खर्चलाई मितव्ययी र पारदर्शी बनाइने उल्लेख गरिएको छ।




