घडी भवन, त्रिवि कीर्तिपुर।
काठमाडौँ- देशका ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएकामा कुल २१८ जनाले उम्मेदवारी दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिअनुसार खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाइएको हो।
विश्वविद्यालयहरूको कुलपतिमा प्रधानमन्त्री तथा सहकुलपतिमा शिक्षामन्त्री रहने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुसार वैशाख २५ गते सूचना प्रकाशित गरी उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको थियो।
आवेदनको विवरणअनुसार त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा धेरै ५० जनाले उपकुलपति बन्न आवेदन दिएका छन्। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय मा समान ३८/३८ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।
यस्तै राजर्षि जनक विश्वविद्यालय का लागि २७, मध्यपश्चिम विश्वविद्यालय का लागि २०, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का लागि १९-१९ तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय का लागि १५ जनाले आवेदन दिएका छन्।
मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि छनोट समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ र त्यसपछि सम्बन्धित विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइनेछ।




