रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको विकल्प नखोजेको बताएका छन्।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नु पर्छ भनेर आवाज नउठाएको र पार्टीले पनि रवि लामिछानेको विकल्प नखोजेको बताएका हुन्।
कुनै पनि पार्टीभित्र गुट–उपगुटका चर्चा चल्ने कुरा नौलो नभएको भन्दै उनले रास्वपाभित्र अहिले गुट–उपगुटको अवस्था नरहेको दावी गरे। उनले रास्वपाभित्र धेरै राजनीतिक शक्तिहरु समाहित भएको अवस्थामा महाधिवेशनमार्फत सबैलाई समेटेर अघि बढिने उल्लेख गरे।
पराजुलीले पार्टीभित्रका नेताहरुमाथि लागेका आरोपको बचाउ वा खण्डन गर्ने पक्षमा आफूहरु नरहेको भन्दै अनुसन्धानका लागि बाटो खुला रहेको बताए।




