प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक

हिमाल प्रेस ५ जेठ २०८३ १९:५३ | Tuesday, May 19, 2026
26
SHARES
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडौँ– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी तीन वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटोछरितो सेवा गर्ने लक्ष्यका साथ २०८३/८५ रणनीतिक योजना अगाडि सारिएको बताए।

रणनीतिक योजना केवल कागजमा सीमित नभई यसको सफल कार्यान्वयनमा सम्पूर्ण प्रहरी अधिकारी प्रतिबद्ध हुनुपर्ने उनले बताए। ‘हाम्रो मुख्य उद्देश्य नागरिकको विश्वास जित्नु हो, प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो र छरितो सेवा दिनु हो,’ उनले भने।

प्रहरी महानिरीक्षक कार्कीले उक्त रणनीतिक योजनाले नेपाल प्रहरीलाई दक्षिण एसियाकै एक उत्कृष्ट र भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। योजनाले नेपाल प्रहरीलाई समयसापेक्ष आधुनिक र नागरिकमैत्री बनाउने लक्ष्य राखेको उनले बताए।

रणनीतिक योजनाको मुख्य विषय ‘चुस्त प्रहरी सेवा–सुरक्षित समुदाय’ रहेको छ। उक्त रणनीतिमा सातवटा रणनीतिक क्षेत्र, ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रम समेटिएका छन्।

उक्त रणनीतिको अल्पकालीन लक्ष्यमा नीतिगत र कानुनी सुधार, समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ, समस्या र पूर्वानुमानमा आधारित रोकथाम र नियन्त्रण प्रणाली, जनशक्तिको सेवा विशिष्टीकृत, अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभूत क्षमता स्थापना प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार समेटिएका छन्।

यस्तै, दीर्घकालीन लक्ष्यमा समाजमा शान्ति सुव्यवस्था, न्यायिक पहुँच र प्रहरी सेवा प्रवाहको स्तरमा अभिवृद्धिद्वारा सुशासन प्रवद्र्धन, पारदर्शी प्रहरीद्वारा जनविश्वास र सन्तुष्टिको स्तरमा अभिवृद्धि, अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रभावकारिता, दक्ष, नैतिकवान र उत्प्रेरित मानव संसाधन, सुदृढ पूर्वाधार र कार्यवातावरण रहेका छन्।

रणनीतिक क्षेत्र तथा लक्ष्यमा नीति, योजना र अन्तर्राष्ट्रिय समन्वय, शान्ति सुरक्षा र विपद् व्यवस्थापन, अपराध रोकथाम र नियन्त्रण, प्रविधिमार्फत अपराध अनुसन्धान, दक्ष र उच्च मनोबलयुक्त जनशक्ति तयार पार्ने, भौतिक पूर्वाधार र स्रोतसाधनको सुदृढीकरण तथा सूचना प्रविधि र एआईको प्रयोग रहेका छन्।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको उक्त रणनीतिले प्रहरीले अल्पकालीन रूपमा नीतिगत र कानुनी सुधार, जनशक्तिको वृत्ति विकास र अपराध रोकथाम प्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, दीर्घकालीन रूपमा समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, पारदर्शी प्रहरी सेवामार्फत जनविश्वास आर्जन गर्ने र दक्ष एवं नैतिकवान मानव संसाधन विकास गर्ने उद्देश्य लिइएको छ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले उक्त रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक कार्ययोजना निर्माण गरिने र महानिरीक्षकदेखि इलाका प्रहरी कार्यालयसम्मका कार्यालय प्रमुखले कार्यसम्पादन सम्झौता गरी काम गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।

उक्त कार्यले प्रहरी सेवालाई थप पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा प्रहरी प्रधान कार्यालयले गरेको छ।

‘नेपाल पुलिस मोबाइल एप’ सार्वजनिक

सोही अवसरमा नागरिकको सुविधाका लागि ‘नेपाल पुलिस मोबाइल एप’ मार्फत अनलाइन गुनासो व्यवस्थापन प्रणालीको शुभारम्भ गरिएको छ।

नागरिकले प्रहरी कार्यालयमै नगई मोबाइल एपमार्फत आफ्ना उजुरी र गुनासोहरू दर्ता गर्नेगरी उक्त एप्स सञ्चालनमा ल्याइएको हो। दर्ता भएका गुनासोको अवस्था पनि ‘डिजिटल’ रूपमै ‘ट्र्याक’ गर्न सकिने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त कार्यले प्रहरी सेवामा पारदर्शिता र उत्तरदायित्व बढाउने विश्वास लिइएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी वरिष्ठ नायक निरीक्षक (वरिष्ठ सई) श्रीहरि केसीद्वारा लिखित ‘दुवाकोटदेखि मिसनसम्म’ पुस्तकको विमोचन गरे। उक्त पुस्तकमा लेखक केसीले आफ्नो दुई दशकभन्दा लामो प्रहरी जीवनका अनुभव र भोगाइलाई समेटेका छन्।

प्रकाशित: ५ जेठ २०८३ १९:५३ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast