फाइल तस्बिर।
सिरहा- चौथो संस्करणको सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सञ्चालन हुने भएको छ। स्थानीय सलहेश युवा क्लबको आयोजना, सिरहा नगरपालिकाको मुख्य आर्थिक सहयोग र जिल्ला फुटबल संघ सिरहाको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छ। सिरहा नगरपालिका-३ मखनाहास्थित शंकर खेल मैदानमा हुने उद्घाटन खेलमा चात्या सा फुटबल क्लब झापा र गोलबजार युनाइटेड क्लब गोलबजारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
‘युवाको सम्मान, सलहेश नगरी सिरहाको पहिचान, फुटबल खेल हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गरी आठ टोलीको सहभागिता रहने आयोजक सलहेश युवा क्लबका अध्यक्ष राजीव यादवले जानकारी दिए।
उनका अनुसार यस वर्ष केही नयाँ टोलीहरूलाई समेत समावेश गरिएको छ। प्रतियोगितामा आयोजक सलहेश युवा क्लब सिरहासहित रिफ्स काठमाडौँ, पथरी-११ एफसी मोरङ, गाईघाट युनाइटेड उदयपुर, गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरी र भारतको माँ कामाख्या स्पोट्र्स क्लब बक्सर (बिहार) ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको फाइनल खेल गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते हुनेछ। आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख रुपैयाँसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ।




