यी हुन् एसईईमा शतप्रतिशत नतिजा ल्याउने काठमाडौँका चार विद्यालय

हिमाल प्रेस २ जेठ २०८३ २०:०१ | Saturday, May 16, 2026
16
SHARES
यी हुन् एसईईमा शतप्रतिशत नतिजा ल्याउने काठमाडौँका चार विद्यालय फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शत्प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन्।  यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, बाल व्यवसायी माध्यमिक विद्यालय सिफल र बालसेवा माध्यमिक विद्यालय झोछेँ छन्।
नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयले २०५५ सालदेखि नियमित रूपमा शतप्रतिशत नतिजा ल्याइरहेको छ। २०२८ मा स्थापित उक्त विद्यालय परिवारको अथक मिहिनेतले यस्तो नतिजा ल्याउन सफल भएको  प्रधानाध्यापक उपेन्द्र यादव बताउँछन्।
उक्त विद्यालयमा अध्ययन गर्ने कान नसुन्ने (बहिरा) २१ जना विद्यार्थी यस वर्षको एसइईमा सहभागी भएका थिए। यहाँ यस्ता विद्यार्थीलाई दृश्यको माध्यमबाट शिक्षण सिकाइ गरिँदै आएको छ।
२०७२ देखि निरन्तर शतप्रतिशत नतिजा ल्याउन सफल भएको श्रम राष्ट्रिय माध्यमिक विद्यालयले २०८२ सालको एसइईमा पनि आफूलाई अब्बल साबित गरेको छ।
विद्यालयका सहायक प्रधानाध्यापक सरोज खनालले फरक पठनपाठन संस्कार र निरन्तर मेहनतले उत्कृष्ट नतिजा ल्याउन सहज भएको बताए। उनले भने, ‘हामी चाडपर्वको दिनबाहेक अन्य कुनै पनि बिदामा  विद्यालय बन्द गर्दैनौँ। अनिवार्य विषयहरू गणित, विज्ञान र अङ्ग्रेजीको नियमित पठनपाठन हुन्छ।  यसरी राम्रो नतिजासहित ल्याउन अहोरात्र खटिने सबै विषयगत शिक्षकका कारण यस्तो सम्भव भएको हो।’
यसैगरी, बाल व्यवसायी माध्यमिक विद्यालय विगत दुई वर्षदेखि शत्प्रतिशत नतिजा ल्याइरहेको छ। २०२८ मा स्थापना भएको उक्त विद्यालयले शारीरिक रूपमा अशक्त बालबालिकालाई पनि अध्ययन अध्यापन गराउँदै आएको प्रधानाध्यापक रामचन्द्र ढुंगानाले जानकारी दिए। यस विद्यालयबाट २०८२ मा परीक्षा दिएका सबै ३३ विद्यार्थी नै ‘ग्रेडेड’ भएका छन्।
यसपटक एसईईमा शतप्रतिशत नतिजा ल्याउनेमा बालसेवा माध्यमिक विद्यालय झोछेँ पनि पर्छ। विगतमा भौतिक पूर्वाधारको अभावका कारण यस विद्यालयमा बालबालिका टिकाउनै कठिन थियो। पछिल्लो समय महानगरपालिकाले शिक्षामा गरेको लगानी र विद्यालय परिवारको निरन्तर मिहिनेतले बालबालिकालाई टिकाउन र गुणस्तरीय शिक्षण सिकाइका लागि पनि सहज भएको प्रधानाध्यापक मञ्जु पाठकले बताइन्।
उनका अनुसार यस विद्यालयमा करिब ९० प्रतिशत बालबालिका आर्थिक रूपमा विपन्न परिवारका छन्।
महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालले यस वर्ष महानगरका ७६ दशमलव ७५ प्रतिशत विद्यार्थी एसइईमा ‘ग्रेडेड’ भएको जानकारी दिए। नतिजा सुधार कार्यक्रम लागू भएका विद्यालयमा एसइई नतिजा सन्तोषजनक रहेको उनले बताए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast