काठमाडौँ- सर्लाहीमा इँटाको चाङ ढलेर किच्दा तीन जनाको मृत्यु भएको छ। मृतक मध्ये एक जना भारतीय नागरिक छन् । घटनामा थप दुई जना घाइते भएका छन्। सर्लाहीको गौडेता नगरपालिका ७ रामवन बस्ने ५० वर्षीय फिताई मंसुर, गौडेता ९ बस्ने ३५ वर्षीय शम्भु राउत र ५ भारत लखेमपुरका ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको हो।
बिहिबार साँझ ६ बजेतिर सर्लाही हरिपुर ५ मजुर्वामा स्थित कृष्ण इँटा उधोगबाट इँटा निकाल्ने क्रममा अचानक इँटाको पर्खाल ढल्दा माटो र इटाले पुरिएर उनीहरु गम्भीर घाइते भएका थिए। साँझ साढे ६ बजे घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक शिव कटेल नेतृत्वको ७ जना प्रहरीको टोली घटना स्थल पुगेको थियो। घाइतेहरूलाई तत्काल उद्दार गरी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा तीन जनाको मृत्यु भएको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
घाइतेहरु मलंगवा नगरपालिका ७ घर भएका ३२ वर्षीय तुलसी महतो र वडा नम्बर २ घर भएका ५२ वर्षीय सत्यनाराण महतो घाइते छन्। शरिरको विभिन्न भागमा चोट लगोका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरुको क्रमशः प्रादेशिक अस्पताल मलंगवा र स्थानीय क्लिनिक मजुर्वा सर्लाहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।




