सेयर बजारमा सामान्य सुधार

हिमाल प्रेस १ जेठ २०८३ १७:४२ | Friday, May 15, 2026
10
SHARES
सेयर बजारमा सामान्य सुधार सेयर बजार

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले लगातार तीन दिनको गिरावट तोड्दै १.७७ अंकको सामान्य वृद्धि हासिल गरेको छ। यससँगै नेप्से परिसूचक २,७३१.९४ बिन्दुमा बन्द भएको छ।

कारोबार अवधिभर बजारमा तीव्र उतारचढाव देखिएको थियो। सुरुमा घटेको बजार क्रमशः उकालो लाग्दै कारोबारको दोस्रो घण्टामा २,७४३.८४ बिन्दुको दिनकै उच्च स्तरसम्म पुगेको थियो। तर पछिल्लो समयमा लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न बिक्री बढाउँदा अधिकांश लाभ गुमेको थियो। अन्त्यतिर भएको केही खरिदले भने परिसूचकलाई हरियो संकेतमा बन्द गराउन सहयोग गर्‍यो।

शुक्रबारको कारोबारमा १२७ कम्पनीका शेयर मूल्य बढेका छन् भने १२० कम्पनीका शेयर घटेका छन्। २२ कम्पनीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेर ३ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। कुल ७९ लाख ३० हजार कित्ता शेयर ४३ हजार ६७४ पटकको कारोबारमार्फत किनबेच भएका छन्।

व्यक्तिगत कम्पनीतर्फ ७ प्रतिशत नबिल डिबेन्चर २०७९ ले सबैभन्दा धेरै ७.७१ प्रतिशतले मूल्य वृद्धि गरेको छ। युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.७९ प्रतिशतले घटेको छ।

यद्यपि कारोबार रकमका आधारमा भने युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ३० करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसपछि क्रमशः एपीआई पावर कम्पनी लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड रहेका छन्, जसको कारोबार रकम क्रमशः ११ करोड ४४ लाख १० हजार रुपैयाँ र ८ करोड ६३ लाख रुपैयाँ छ।

शुक्रबार १३ वटा उपसूचकमध्ये ७ वटा उपसूचक बढेका छन् भने बाँकी ६ वटा घटेर बन्द भएका छन्। निर्जीवन बीमा उपसूचक सबैभन्दा धेरै ०.६४ प्रतिशतले बढेको छ। म्युचुअल फन्ड उपसूचक सबैभन्दा धेरै ०.३३ प्रतिशतले घटेको छ।

प्रकाशित: १ जेठ २०८३ १७:४२ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast