पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक जोशी बर्खास्त

हिमाल प्रेस १ जेठ २०८३ १६:०४ | Friday, May 15, 2026
14
SHARES
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक जोशी बर्खास्त

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशीलाई बर्खास्त गरेको छ। मन्त्रालये  कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जोशीलाई पदबाट हटाएको हो।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री खड्कराज पोडेल (गनेस) ले मन्त्रीस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी नयाँ नियमावली जारी गरेका हुन्।

कोषको नयाँ नियमावलीअनुसार कार्यकारी निर्देशकको पद हटाइएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए। कोषमा ऐनले कार्यकारी अधिकार दिएको सदस्य सचिवको व्यवस्था हुँदाहुँदै वसन्त चौधरी सदस्य सचिव भएका बेला नियमावलीमा संशोधन गरी कार्यकारी निर्देशकको व्यवस्था गरिएको थियो।

२०६० मा कार्यकारी निर्देशकको व्यवस्था भएपछि पहिलो कार्यकारी निर्देशकका रुपमा सरकारका उपसचिव रामशरण चिमौरियालाई तोकिएको थियो। उनको कार्यकालपछि पुरातत्त्व विभागको महानिर्देशकबाट सेवा निवृत्त भएका कोषप्रसाद आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो।

आचार्यपछि कोषकै निर्देशक रमेश उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो। उप्रेतीपछि डा. घनश्याम खतिवडा कार्यकारी निर्देशक भए। खतिवडापछि कार्यकारी निर्देशक नियुक्त भएकी लक्ष्मी पुनका विषयमा विवाद भएपछि अदालतबाट हटाइएको थियो।

पुनपछि सुभासचन्द्र जोशी कार्यकारी निर्देशक नियुक्त भएका थिए। कोषको नयाँ नियमावली जारी भएपछि बहाल रहेकै अवस्थामा जोशीलाई पनि हटाइएको जनाइएको छ।

प्रकाशित: १ जेठ २०८३ १६:०४ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast