काठमाडौँ- कोशी प्रदेश सरकारले आगामी जेठ ६ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशन सुरु हुने छ । ‘मन्त्रिपरिषद्को आजको बैठकले आगामी बजेट अधिवेशनको मिति तय गर्नुका साथै केही महत्त्वपूर्ण प्रशासनिक र राजनीतिक निर्णयहरू गरेको छ,’ मन्त्री पराजुलीले भने। बैठकले कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाका मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगलाई पूर्णता दिने क्रममा सरकारले घिमिरेलाई सदस्यमा नियुक्त गरेको हो ।
सरकारले केही महत्त्वपूर्ण नियमावली र निर्देशिकाहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको छ । जसअनुसार ‘कोशी प्रदेश तथ्याङ्क नियमावली २०८२’ लाई मन्त्रिपरिषद्को पूर्वाधार समितिमा पठाइएको छ ।
यस्तै, ‘कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८३’ र ‘कोशी योजना आयोग गठन सञ्चालन पहिलो संशोधन आदेश २०८३’ लाई थप छलफल र परिमार्जनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको मन्त्री पराजुलीले जानकारी दिए।
बैठकले सङ्घीय सरकारबाट सरुवा भई कोशी प्रदेशमा आएका सह–सचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवको रूपमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ ।



