प्रतीकात्मक तस्बिर।
रूपन्देही- मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल काठमाडौँले अमेरिका पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने युवकलाई पक्राउ गरेको छ। ब्युरोका अनुसार दाङ, शान्तिनगर गाउँपालिका–३ निवासी २६ वर्षीय लोकमान खत्रीलाई मानव तस्करी तथा ओसारपसार मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।
प्रहरीका अनुसार खत्रीले २६ वर्षीया महिलालाई बेलायतको भिजिट भिसामा पठाएर पछि वर्किङ भिसामा परिवर्तन गरी राम्रो मासिक आम्दानी हुने कम्पनीमा काम लगाइदिने प्रलोभन दिएका थिए। त्यसका लागि सुरुमा भिसा प्रक्रियाको नाममा ४ लाख रुपैयाँ आफ्नै खातामा जम्मा गराएका थिए। पछि ती महिलालाई बेलायतबाट अमेरिका पठाइदिने भन्दै थप ४५ लाख रुपैयाँ लाग्ने बताई पटकपटक गरी ६९ लाख २६ हजार ७ सय ८० रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, भारत हुँदै नेपाल फर्काएर पुनः कतार, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोष्टारिका, निकारागुवा, होन्डुरस र मेक्सिकोको बाटो प्रयोग गरी अवैधरूपमा अमेरिका पुर्याइएको थियो। अमेरिकामा अवैध प्रवेश गरेको आरोपमा त्यहाँको प्रहरीले उनलाई १४ महिनासम्म जेलमा राखेको र पछि डिपोर्ट गरी नेपाल फर्काएको ब्युरोले जनाएको छ।
नेपाल फर्किएपछि पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा खत्रीविरुद्ध सल्यानमा समेत ठगी मुद्दा दर्ता भएको र उनले अन्य नेपाली नागरिकलाई समेत अमेरिका पठाउने नाममा मानव तस्करी तथा ठगी गरेको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।



