शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल।
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सुरु गर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पोखरेलले एसईईमा उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि तयारी कक्षा वा कुनै कार्यक्रम ल्याउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका हुन्।
उनले शैक्षिक संस्थामा नितान्त पठनपाठनको वातावरण बनाउन राजनीतिमुक्त क्षेत्र बनाउन खोजिएको समेत बताए। कसैलाई पनि राजनीति गर्नबाट बन्देज लगाउने उद्देश्य सरकारको नभएको भन्दै उनले राजनीति गर्ने भए मार्करलाई शैक्षिक संस्थामै छाड्नुपर्ने धारणा राखे।
मन्त्री पोखरेलले विद्यार्थी नभएका वा निकै कम भएका विद्यालय मर्जर गर्नु अन्तिम विकल्प भएकाले विद्यार्थी संख्या बढाएर भइरहेका विद्यालयहरूलाई नै कायम राख्न जोड दिइएको जानकारी दिए।
बैठकमा समिति सदस्यहरूले सुकुम्वासी वस्तीबाट विस्थापित बालबालिकाको पठनपाठनकाका लागि तत्काल विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।



