काठमाडौँ- नेकपा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक तथा जनताको बहुदलीय जनवाद (जवज)का प्रणेता जननेता मदन भण्डारी तथा तत्कालीन सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृतिमा जेठ ३ गते देशभर मनाउने भएको छ।
एमालेले प्रत्येक वर्ष जेठ ३ गते ‘मदन–आश्रित स्मृति’ दिवस मनाउँदै आएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार सबै पार्टी कमिटीलाई सर्कुलर पठाउँदै यस वर्षको जेठ ३ गते देशभर भव्य र प्रभावकारी रूपमा मनाउन सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई निर्देशन दिएका हुन्।
पोखरेलको आन्तरिक सर्कुलरमा उक्त अवसरमा पार्टीका विचार, योगदान र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आ–आफ्नो क्षेत्रको आवश्यकता र परिस्थितिअनुसार निम्न कार्यक्रमहरू सञ्चालन गर्न भनिएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले स्मृति दिवस मनाउन पार्टी कमिटीलाई सर्कुलर गरिएको जानकारी दिए । काठमाडौँ उपत्यकाको हकमा जेठ ३ गते बिहान ७ः४५ बजे मदननगर बल्खुमा कार्यक्रम आयोजना गरिने पनि महासचिव पोखरेलको सर्कुलरमा उल्लेख छ।
जसमा केन्द्रीय कमिटी सदस्यहरू, राजधानी प्रदेश मातहत कमिटीहरू, जनसङ्गठनका राजधानीमा रहेका सबै जनसङ्गठनहरूको उपस्थिति हुन भनिएको छ। त्यस्तै जिल्ला, प्रदेशहरू र जनसङ्गठनहरूको हकमा मदन–आश्रितको योगदानसम्बन्धी विचार गोष्ठी, अन्तर्क्रिया तथा स्मृति सभा आयोजना गर्न पार्टी केन्द्रले निर्देशन दिएको छ।
अनेरास्ववियू जिल्ला कमिटीले आफ्नो जिल्लाको प्रत्येक माध्यमिक विद्यालयको बाहिर सार्वजनिक स्थानमा मदन–आश्रितको फोटो प्रदर्शनी र पम्लेट र या पोस्टर प्रदर्शन गर्नुपर्नेछ भने यसको समन्वय जिल्ला कमिटीले गर्नुपर्नेछ।
एमालेको युवासंघले हरेक पालिकामा बिहान ७–८ बजे मौन मार्चपास गर्ने र विविध रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ । जसमा अन्य जन सङ्गठनलाई पनि समावेश गराउन समन्वय गर्न भनिएको छ। अनेमसंघ पालिका कमिटीर वार्ड कमिटीले ज्येष्ठ महिलाहरूलाई घरमा नै पुगेर सम्मान गर्ने तथा सम्पर्क समन्वय कमिटीलाई रक्तदान कार्यक्रम सञ्चालन गर्न एमालेले निर्देशन दिएको छ।
अनेकिसंघले आफ्नो बारीमार सार्वजनिक स्थलमा कम्तीमा २ वटा फलफूलको बिरुवा रोप्ने, जिफन्टले काठमाडौँ, भूमि अधिकार तथा श्रमिक सङ्गठनले उपत्यका बाहिरका अव्यवस्थित बसोबास र सुकुम्वासी र भूपू सैनिक तथा प्रहरी सङ्गठनले भक्तपुरमा समन्वय गरी हालै विस्थापित सुकुम्वासीहरूलाई भेटी उनीहरूको अवस्था बुझ्ने र सान्त्वना दिनेछन् । प्रवास कमिटीहरूले आफ्नो स्थान र अवस्था हेरी कार्यक्रम आयोजना गर्न महासचिव पोखरेलले निर्देशन दिएका छन्।
एमाले नेताहरू मदन–आश्रितको २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन गएको थियो।



