काठमाडौँ- नेपाल विद्यार्थी संघ इतर पक्षधर नेता तथा पूर्व केन्द्रीय सदस्यहरूको भेला शनिबार शंकरदेव क्याम्पसमा सम्पन्न भएको छ। भेलामा नेविसंघका पूर्व केन्द्रीय समिति सदस्य, विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
भेलामा संगठनको वर्तमान अवस्था, अधिवेशनको तयारी, विद्यार्थी आन्दोलनको दिशा तथा संगठनभित्रको आन्तरिक लोकतन्त्रका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले संगठनलाई वैधानिक, लोकतान्त्रिक र विधिसम्मत ढंगबाट अगाडि बढाउन अधिवेशन अनिवार्य रहेको धारणा व्यक्त गरेका थिए।
भेलाले पार्टीले तत्काल निर्वाचन समिति गठन गरी निर्धारित समयभित्र लोकतान्त्रिक विधिअनुसार अधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै, संगठनमा मनोनयनको संस्कृतिभन्दा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिइएको छ।



