कांग्रेसले कर्णालीमा दुईदिने प्रदेशस्तरीय भेला गर्ने

हिमाल प्रेस २७ वैशाख २०८३ १५:०६ | Sunday, May 10, 2026
16
SHARES
कांग्रेसले कर्णालीमा दुईदिने प्रदेशस्तरीय भेला गर्ने

सुर्खेत- नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा भोलि (सोमबार) र पर्सि (मंगलबार) कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते प्रदेश तथा स्थानीयतह केन्द्रित भेला गर्न लागेको हो।

भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ।

भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ।

प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेले भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने बताए।

भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुने उनको भनाइ छ। बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा पनि विशेष जोड दिइनेछ।

त्यसै गरी सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गरिने बताइएको छ। नागरिकमैत्री बजेट निर्माण, समावेशी विकास र पार्टी तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वयका विषयमा समेत गहन छलफल हुने आयोजकले जनाएको छ।

दुईदिने छलफलपछि ‘सुर्खेत घोषणापत्र’ जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने तयारी गरिएको छ। कांग्रेसले भेलालाई कर्णाली केन्द्रित राजनीतिक, संगठनात्मक तथा विकास रणनीति निर्माणको महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताइएको छ।

प्रकाशित: २७ वैशाख २०८३ १५:०६ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast