काठमाडौँ- नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भुमिका निर्वाह गर्न ‘संसदीय बोर्ड’ गठन गरेको हो।
एमालेका प्रमुख सचेतक ऐन महरकाअनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी ६ जना पदाधिकारी रहनेछन् । बाँकी १५ सदस्यहरूमा प्रतिनिधि सभाका १०, राष्ट्रिय सभाका ४ र संयुक्त समितिका २ गरी कुल १६ वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू (संयोजक) रहने गरी संरचना तयार गरिएको छ ।
बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ । प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गर्दै ‘कठपुतली’ बनाउन खोजेको आरोप लगाए।
वैशाख २८ गतेदेखि शुरु हुने बजेट अधिवेशनमा एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने जनाएको छ । सदनको कारबाही सुचारु हुने वा नहुने भन्नेकुरा सरकारको व्यवहारमा निर्भर रहने प्रमुख सचेतक महरको भनाइ छ ।



