झापामा रगतको माग बढ्दो

हिमाल प्रेस २६ वैशाख २०८३ ६:२८ | Saturday, May 9, 2026
झापामा रगतको माग बढ्दो

झापा- नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआइभी सङ्क्रमण (रिएक्टिभ) फेला परेको छ ।

सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र भिरिङ्गीजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् ।

रगत जाँचका क्रममा आर्थिक वर्ष २०७८/७९ मा एक जना, आव २०७९/८० मा दुई जना, आव २०८०/८१ मा छ जना, आव २०८१/८२ मा १४ जना र आव २०८२/८३ मा छ जना रक्तदाताको रगतमा एचआइभी पोजेटिभ फेला परेको रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका इन्चार्ज शिशिर दाहालले जानकारी दिए ।

आव २०८१/८२ मा सबैभन्दा बढी १४ जना रक्तदाताको रगतमा एचआइभी पोजेटिभ भेटिएको उनले जानकारी दिए । सेवा केन्द्रमा जाँच गरिएका रगतमा एचआइभी पोजेटिभ देखिएमा पुनस्र्पुष्टिका लागि थप परीक्षण र परामर्शका लागि सिफारिस गरिँदै आएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा केन्द्रमार्फत झापाका अस्पतालमा हरेक वर्ष १७ हजार युनिटभन्दा बढी सुरक्षित रगत आपूर्ति गर्दै आएको छ । जिल्लामा पाँच हजारभन्दा बढी स्वयंसेवी रक्तदाता छन् ।

हरेक वर्षको वर्षायाममा रक्तदान कार्यक्रम सञ्चालन नहुने र खेतीको समय हुने भएकाले जिल्लामा रगतको अभाव हुने गरेको छ । क्यान्सर, मिर्गौला, एनिमिया लगायतका बिरामीको सङ्ख्या बढ्दै गएकोले रगतको माग पनि बढिरहेको छ ।

रेडक्रसले रगत दान गर्नुअघि र गरिसकेपछि गरिने यस्ता परीक्षणले बिरामीलाई सर्न सक्ने सम्भावित सङ्क्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०८३ ६:२८ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast