काठमाडौँ– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको अवधि थप दुई महिना लम्ब्याउने निर्णय गरेको छ।
आईएमएफले जारी गरेको विज्ञप्तिअनुसार उक्त कार्यक्रम अब सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ।
आईएमएफका अनुसार ईसीएफ कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको अवधि थप गरिएको हो।
नेपालका लागि ३८ महिनाको ईसीएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो। उक्त कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर अर्थात् ‘स्पेसल ड्रइङ राइट’ (एसडीआर) कोटाको १८० प्रतिशत बराबरको पहुँच प्राप्त गरेको थियो।
आईएमएफका अनुसार ईसीएफ कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षाका लागि पर्याप्त समय उपलब्ध गराउन दुई महिना थप गरिएको हो। नेपालले आईएमएफसँगको ईसीएफ कार्यक्रममार्फत वित्तीय स्थायित्व कायम गर्ने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउने, सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने तथा आर्थिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ।



