पालिकाले गर्‍यो विद्यालय एकीकरण र तह मिलान

हिमाल प्रेस २४ वैशाख २०८३ १२:३५ | Thursday, May 7, 2026
134
SHARES
पालिकाले गर्‍यो विद्यालय एकीकरण र तह मिलान एक सामुदायिक विद्यालय। फाइल तस्बिर ।

बैतडी- पञ्चेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरूको तह मिलान तथा विद्यालय समायोजन गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको गत चैत २७ गतेको बैठकको निर्णयअनुसार उक्त प्रक्रिया अघि बढाइएको हो।

गाउँ कार्यपालिकाको कार्यालय आँशेराद्वारा जारी सूचनाअनुसार विद्यार्थी संख्या, शैक्षिक व्यवस्थापन र स्रोत साधनको प्रभावकारी उपयोगलाई मध्यनजर गर्दै केही विद्यालय एकीकरण तथा केही विद्यालयको तह घटाउने निर्णय गरिएको जनाएको छ।

निर्णयअनुसार कैलपाल शिशु केन्द्र पञ्चेश्वर-४ लाई रायपुर आधारभूत विद्यालयमा, नौगरा शिशु केन्द्र पञ्चेश्वर-३ लाई सिद्धनाथ आधारभूत विद्यालयमा समायोजन गरिएको छ।

यस्तै, इन्द्रपुर आधारभूत विद्यालय पञ्चेश्वर-१ लाई डुङ्गीवान माध्यमिक विद्यालयमा तथा उदयदेव कार्काडौँ आधारभूत विद्यालय पञ्चेश्वर-४ लाई टाक तिलकपुर माध्यमिक विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी तालेश्वर आधारभूत विद्यालय पञ्चेश्वर-६ लाई आमपुर माध्यमिक विद्यालयमा समायोजन गरिएको छ भने उक्त स्थानमा बालविकास कक्षा भने यथावत् सञ्चालन हुने बताइएको छ।

गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्म सञ्चालन हुँदै आएका आठ विद्यालयलाई अब कक्षा १ देखि ३ सम्म मात्र सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

तह मिलान गरिएका विद्यालयहरूमा कैलपाल आधारभूत विद्यालय, भकाँटी आधारभूत विद्यालय, प्रगति आधारभूत विद्यालय, जनचेतना आधारभूत विद्यालय, सिद्धनाथ आधारभूत विद्यालय, हरीजना आधारभूत विद्यालय, सिर्जना आधारभूत विद्यालय र केदार आधारभूत विद्यालय रहेका छन्।

सूचनामा नयाँ शैक्षिक सत्र २०८३ देखि ती विद्यालयहरूले कक्षा १-३ मा मात्र विद्यार्थी भर्ना गर्नुपर्ने उल्लेख गरिएको छ। समायोजन गरिएका विद्यालयका शिक्षक तथा कर्मचारीलाई सम्बन्धित समायोजित विद्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

सूचीसहित

प्रकाशित: २४ वैशाख २०८३ १२:३५ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast