कहाँ पुग्यो पोखरा-मुग्लिन सडक पश्चिम खण्डको प्रगति?

विजय नेपाल २३ वैशाख २०८३ २१:३० | Wednesday, May 6, 2026
10
SHARES
कहाँ पुग्यो पोखरा-मुग्लिन सडक पश्चिम खण्डको प्रगति?

पोखरा- पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा-जामुने) को भौतिक प्रगति तीनचौथाइ पूरा भएको छ। भौतिक प्रगति ७८.२६ प्रतिशत भइसक्दा निर्माण र मर्मतसमेतको प्रगति भने ७३.५१ प्रतिशत छ। उक्त आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार वित्तीय प्रगति ६३.५६ प्रतिशत रहेको छ।

७ अर्ब ४० करोड रुपैयाँ लागतको उक्त सडकखण्डको आयोजना गत २०७८ जेठ ३ देखि निर्माण सुरु गरिएको थियो। तेस्रोपल्ट म्याद थपपछि यसको २०८३ असार १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि छ।

कुल ३८ दशमलव ७१ किमी दूरीको उक्त सडकखण्डमा हालसम्म प्रथम तहको कालोपत्रे र दोस्रो तहको कालोपत्रे लगभग पूरा भइसकेको कुँवरले जानकारी दिए। उनका अनुसार लक्षित १३ पुलमध्ये १२ वटै निर्माण पूरा भइसकेका छन्।

पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथिको निर्माणाधीन सिग्नेचर पुलको पनि झण्डै करिब ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ। यसको वित्तीय प्रगति करिब ५५ प्रतिशत छ।

१३ पुलमध्ये तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको विजयपुर र कोत्रेखोलामा पुल निर्माण सकिएको हो।

सो सडकखण्डमा लक्षित १ सय ५ कल्भर्टमध्ये सबै बनिसकेका छन्। ६० दशमलव ५० किमी नाली बनाउने लक्ष्य रहेकोमा यो पनि करिब पूरा भइसकेको आयोजना कार्यालयका प्रमुख कुँवरले जानकारी दिए।

सेती नदीमाथिको सिग्नेचर पुलको कुल लागत १ अर्ब ७ करोड हो। भौतिक प्रगति करिब ६० र वित्तीय प्रगति ५५ प्रतिशत भइसकेकाले चाँडै नै यो पनि निर्माण सम्पन्न हुने इञ्जिनियर कुँवरको विश्वास छ। यो पुल २०७९ साउन २६ देखि निर्माण सुरु गरिएकामा हालै २१ वैशाखमा म्याद सकिएकाले पुनः १० महिनाका लागि म्याद थप प्रक्रिया अघि बढेको छ।

सडक आयोजनाको निर्माण कम्पनीले समयमा काम नगरेपछि दोस्रोपल्ट थप भएको मयाद गत २०८२ पुसमा सकिएको थियो। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेकोमा तेस्रो पटक म्याद थप गरिएको हो।

जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन (१८ दशमलव १ किमी) र आधा जति चार लेन (३० दशमलब ५५ किमी) को रहेको इञ्जिनियर कुँवरले बताए। पृथ्वीचोकदेखि सेती पुलसम्म ६ लेनकै सडक हुनेछ।

आगामी १५ असारसम्म निर्माणको समयसीमा भएकोले समयमै सकिनेमा फेरि पनि आशंका छ। किनकि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका २९ वटा विद्युतीय पोल स्थनान्तरण गर्न बाँकी नै छ।

पोल स्थानान्तरणका लागि नेपाल विद्युत प्राधिकरण पोखरालाई दुई महिनाअघि नै अनुरोध गरेको तथा नागरिक उड्यन तथा पर्यटन मन्त्रीसमक्ष यसबारे अवगत गराइएको निर्माण आयोजनाका प्रमुख कुँवरले बताए। तर प्राधिकरणले उधारोमा काम गर्न कठिन हुने जनाउ दिइसकेको छ। यसैबीच हाल मूल्यवृद्धिसँगै पेट्रोलियम पदार्थको अभावले निर्माण आयोजना प्रभावित हुन सक्ने आशंका रहेको निर्माण आयोजना प्रमुख कुँवर बताउँछन्।

प्रकाशित: २३ वैशाख २०८३ २१:३० | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast