कक्षामा पानी पस्दा शिक्षकले बेन्चले ओत दिएर विद्यार्थी जोगाए, शिक्षामन्त्रीले गरे सुधारको पहल

हिमाल प्रेस २३ वैशाख २०८३ १७:०१ | Wednesday, May 6, 2026
104
SHARES
कक्षामा पानी पस्दा शिक्षकले बेन्चले ओत दिएर विद्यार्थी जोगाए, शिक्षामन्त्रीले गरे सुधारको पहल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कपिलवस्तुको एक विद्यालयमा शिक्षकले विद्यार्थीलाई जोगाएको मानवीय कार्यप्रति कृतज्ञता व्यक्त गरेका छन्।

मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत हावाहुरी र वर्षाका कारण कक्षा कोठाभित्रै विद्यार्थी भिज्नुपरेको दृश्यले आफूलाई भावुक बनाएको उल्लेख गरेका छन्।

‘हावाहुरीका कारण पानीको बाछिटाले भिजेका कपिलवस्तुको रामशरण आधारभूत विद्यालय, विजयनगर गाउँपालिका जुडपनियाँमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीलाई एक शिक्षकले ओत दिँदै गरेको कारुणिक दृश्यसहितको भिडियोले मन बेचैन बनाएको छ,’ उनले भनेका छन्।

उक्त भिडियो स्वयंसेवक शिक्षक शम्भु बिकले मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। भिडियोमा जस्तापाताले छाइएको दुई कोठे भवनको छानाबाट पानी चुहिँदा र भेन्टिलेसनबाट पानीको बाछिटा भित्र पस्दा विद्यार्थी भिज्ने अवस्था सिर्जना भएको देखिन्छ। यस्तो अवस्थामा शिक्षकले बेन्चको सहायताले बालबालिकालाई ओत दिँदै जोगाएको दृश्य सार्वजनिक भएको हो।

घटनाबारे थप जानकारी लिन शिक्षा विकास तथा समन्वय एकाइ, कपिलवस्तुको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा भवनको संरचनागत समस्याका कारण पानी भित्र पस्ने अवस्था रहेको पाइएको छ।

विद्यालयको नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायबाट पहल भइरहेको जानकारी प्राप्त भएको छ। मन्त्री पोखरेलले उक्त कार्यलाई उच्च मानवीय उदाहरणका रूपमा लिँदै भनेका छन्, ‘यस मानवीयताको अनुपम कार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’

उनले देशभर मनसुनपूर्वका हावाहुरी, चट्याङ र वर्षाजस्ता प्राकृतिक विपद्बाट बच्न सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित: २३ वैशाख २०८३ १७:०१ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast