घोडाघोडी सिमसार जोगाउन ‘बेसरम’ हटाइँदै

हिमाल प्रेस २३ वैशाख २०८३ १५:५२ | Wednesday, May 6, 2026
16
SHARES
घोडाघोडी सिमसार जोगाउन ‘बेसरम’ हटाइँदै फाइल तस्बिर।

कैलाली- घोडाघोडी ताल क्षेत्रमा मिचाहा प्रजाति ‘बेसरम’ झार हटाउन सुरु गरिएको छ। विश्व रामसार सूचीमा सूचीकृत ‘वर्ड सेन्चुरी’ का रूपमा अन्तरराष्ट्रिय पहिचान बनाएको कैलालीको यो महत्त्वपूर्ण सिमसार क्षेत्र पछिल्ला वर्षमा बेसरमको तीव्र विस्तारका कारण दबाबमा पर्दै आएको छ।

विशेष गरी तालको उत्तर र पूर्वी भू-भागमा यो मिचाहा वनस्पति तीव्र रूपमा फैलिँदै गएकाले जलचर, चराचुरुंगी र समग्र सिमसार प्रणालीमै नकारात्मक असर पर्दै गएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ वन अधिकृत दीपेन्द्र केसीका अनुसार हाल घोडाघोडी ताल क्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल बेसरमले ढाकिसकेको छ, जसमा करिब दुई हेक्टर क्षेत्र अत्यन्त बाक्लो रूपमा प्रभावित रहेको छ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत बेसरम हटाउने कार्य अघि बढाइएको हो। यसका लागि करिब एक लाख बजेट विनियोजन गरिएको छ। सीमित बजेट र जनशक्तिका कारण यस वर्ष करिब शून्य दशमलव पाँच हेक्टर क्षेत्रबाट मात्र बेसरम हटाउने लक्ष्य राखिएको वरिष्ठ वन अधिकृत केसीले जानकारी दिए।

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चसँगको समन्वयमा आजदेखि बेसरम हटाउन सुरु गरिएको छ। मञ्चका व्यवस्थापक दिल धाँमीका अनुसार बेसरमको विस्तार प्रत्येक वर्ष बढ्दै गइरहेको छ र यसले सिमसारको प्राकृतिक संरचना तथा जैविक विविधतामा गम्भीर असर पारिरहेको छ। ‘अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि नियन्त्रणको प्रयास सुरु गरिएको हो, तर यसको फैलावट रोक्न दीर्घकालीन रणनीति आवश्यक देखिन्छ,’ उनले भने।

विगतका प्रयासहरू हेर्दा आर्थिक वर्ष २०८०/८१ मा तीन लाख बजेटमार्फत करिब २ दशमलव ५ हेक्टर क्षेत्र सफा गरिएको थियो भने त्यस अघिल्लो वर्ष पाँच लाख विनियोजन गरी तीन हेक्टर क्षेत्रबाट बेसरम हटाइएको थियो। हरेक वर्ष झारेक्रम जारी रहेकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन।

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार बेसरम जस्ता मिचाहा प्रजातिले स्थानीय वनस्पति तथा जलचर प्रणालीलाई विस्थापित गर्दै जाने भएकाले यसको नियन्त्रणका लागि नियमित व्यवस्थापन, पर्याप्त बजेट र समुदायको सक्रिय सहभागिता अपरिहार्य छ। घोडाघोडी जस्तो अन्तरराष्ट्रिय महत्त्वको सिमसार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना र निरन्तर निगरानी आवश्यक देखिएको छ। रासस

प्रकाशित: २३ वैशाख २०८३ १५:५२ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast