इंग्लिस प्रिमियर लिग : डोकूको गोलले एभर्टनसँग सिटीको बराबरी

हिमाल प्रेस २२ वैशाख २०८३ ८:४० | Tuesday, May 5, 2026
10
SHARES
इंग्लिस प्रिमियर लिग : डोकूको गोलले एभर्टनसँग सिटीको बराबरी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनसँगको रोमाञ्चक खेलमा ३-३ को बराबरी खेलेको छ। खेलको अन्तिम समय (९७ औं मिनेट) मा डोकूले गोल गरेर सिटीलाई हारबाट त बचाए र बारबरी बनाए।

रोमाञ्चक खेलपछि म्यानचेस्टर सिटी अहिले शीर्ष स्थानको आर्सनलभन्दा ५ अंकले पछि परेको छ। सिटीले एक खेल कम खेलेको भए तापनि अब उपाधि जित्ने अवसर पूर्ण रूपमा आर्सनलको आफ्नै हातमा पुगेको छ।

सोमबार राति भएको यस प्रतिस्पर्धात्मक खेलमा सुरुमा सिटीलाई एभर्टनको बलियो रक्षापङ्क्ति तोड्न निकै कठिन भएको थियो। तर, पहिलो हाफ सकिनु ३ मिनेट अघि डोकूले डिबक्सको कुनाबाट प्रहार गरेको उत्कृष्ट बल सिधै जालीमा छिरेपछि सिटीले अग्रता लियो।

दोस्रो हाफमा भने एभर्टनले खेलमा निकै सुधार गर्‍यो र ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। सिटीका डिफेन्डर मार्क गेहीले आफ्ना गोलकिपर जियानलुइगी डोनारुम्मालाई दिएको पास कमजोर हुँदा एभर्टनका थिएर्नो ब्यारीले त्यसको फाइदा उठाउँदै गोल गरे। सुरुमा यसलाई अफसाइड भनिए पनि भिडियो चेकपछि गोलको मान्यता दिइएको थियो।

एभर्टनले त्यसपछि खेलमा पकड जमायो। जेम्स गार्नरको कर्नरमा जेक ओुब्रायनले हेडमार्फत गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए। लगत्तै मेर्लिन रोहलको पासमा ब्यारीले व्यक्तिगत दोस्रो गोल गरेपछि एभर्टन ३-१ ले अगाडि बढ्यो।

खेल सकिन ७ मिनेट बाँकी छँदा एर्लिङ हालान्डले गोल गर्दै सिटीको आशा जगाएका थिए। समय सकिनै लाग्दा ९७ औं मिनेटमा डोकूले फेरि एकपटक जादु देखाए। उनले बायाँ तर्फबाट बल अगाडि बढाउँदै प्रहार गरेको उत्कृष्ट सट गोलमा परिणत भएपछि एभर्टन जित नजिक पुगेर पनि बराबरीमा रोकियो।

यो नतिजाले आर्सनललाई सबैभन्दा बढी खुसी बनाएको छ। अब आर्सनलले आफ्ना बाँकी ३ खेल जितेमा दुई दशकपछि पहिलोपटक लिगको उपाधि जित्नेछ।

प्रकाशित: २२ वैशाख २०८३ ८:४० | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast