भक्तपुर- भक्तपुरको सानोठिमी क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
मध्यपुर थिमि नगरपालिका २ स्थित सानोठिमी अगाडि सोमबार गरिएको जाँचका क्रममा दुई जना स्कुटर चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग सानोठिमीको संयुक्त टोलीले सडकमा गुडिरहेका सवारी साधनहरूमाथि निगरानी बढाएको थियो । सो क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले चालकहरूको स्वास्थ्य परीक्षण गर्दा दुई जनाले प्रतिबन्धित लागुपदार्थ सेवन गरेको पाइएको थियो ।
पक्राउ परेका चालकहरूको परिचय गोप्य राखिए पनि उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।



