एमालेमा ओलीविरुद्ध युवा मोर्चा

किरण पौडेल २० वैशाख २०८३ १९:१० | Sunday, May 3, 2026
34
SHARES
एमालेमा ओलीविरुद्ध युवा मोर्चा

काठमाडौँ- प्रतिनिधिसभा चुनावपछि गुमनामजस्तै देखिएको नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ। पार्टी संगठन कमजोर बन्दै जाँदा पनि दोस्रो तहका नेताहरू मौन रहेपछि युवा नेताहरूले ओलीलाई पदबाट मुक्त भई अभिभावकीय भूमिकामा रहन दबाब दिएका हुन्। विगतमा ओलीको बचाउमा खम्बा बनेर प्रस्तुत हुने गरेका युवा नेताहरू पनि अहिले पद छाड्नुपर्ने पक्षमा उभिएका छन्।

ओलीमाथि दबाब दिनकै लागि शनिबार ‘पुनर्जागरण भेला’ भन्दै युवा नेताहरू संगठित भएका थिए। अध्यक्ष ओलीसहित पहिलो पुस्ताको नेतृत्वको अनिवार्य बिदाइ, प्रदेश-जिल्ला कमिटीदेखि जनवर्गीय संगठनसम्म विघटन गरी तत्काल पुनर्गठन प्रक्रियामा जानुपर्ने माग भेलाका सहभागीहरूको थियो। यसैगरी केही नेताहरूले विशेष महाधिवेशनको कुरा उठाउँदै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।

एमालेका नेताहरूले यसअघि पार्टी कार्यालयमा १५ बुँदे माग बुझाएका छन्, जसको उद्देश्य नेतृत्वबाट ओलीलाई हटाउनु थियो। एमालेको युवा पंक्ति नेतृत्व ‘हटाऊ अभियान’मा खुलेको छ।

ओली अभिभावक बन्नुपर्छ : समीक बडाल 

ओलीका पक्षमा लामो समय रहेका नेता हुन् समीक बडाल। उनी ओलीकै सहयोग पाएर अनेरास्ववियुको महासचिव हुँदै अध्यक्ष बनेका थिए। संगठनको २३औँ महाधिवेशनमा बडाल ओली पक्षकै सहयोगमा अध्यक्ष हुँदा अर्का प्रत्यासी आरसी लामिछाने पराजित भएका थिए। एमालेको एघारौँ महाधिवेशनमा पनि समीक ओली प्यानलबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अहिले समीक नेतृत्व परिवर्तनका पक्षमा खुलेका छन्।

पार्टीको ठूलो पंक्ति रूपान्तरणमा खुल्दा उनी पनि त्यतै देखिएका हुन्। ‘अब हामी पार्टी बचाउने अभियानमा जुट्नुपर्छ,’ समीक भन्छन्, ‘अहिलेको अवस्था यस्तै छ। ओली वा अरू कसैको मानप्रतिष्ठामा आँच पुर्‍याउन खोजेको होइन। ओलीमाथि धेरै प्रश्न उठेकाले अभिभावक बन्न अनुरोध गरेका हौँ।’

निकट नेताहरूका अनुसार ओलीले आफ्ना कार्यकर्ताको कुरा अझै सुन्न चाहँदैनन्। गुटका केही नेताहरूको मात्र कुरा सुन्ने गरेका कारण समीकसहितका नेताहरू ‘बाइपास’मा परेको बताउँछन्। ‘केही साथीहरूलाई त्यसो भयो होला। तर पार्टी भनेको सबैको हो। हेला-होचो बनाउने काम गर्नुहुँदैन। हामी सच्चिएर अघि बढ्नुपर्छ,’ बडाल भन्छन्।

ओली बा अब लड्न जाने होइन : डा. सुजन कडरिया 

अनेरास्ववियुको २३औँ महाधिवेशनमा ओली निकट नेताहरूको समर्थनमा अध्यक्ष बनेका थिए डा. सुजन कडरिया। उनले प्रतिस्पर्धी प्रकाश पौडेललाई पराजित गरेका थिए। उनको पद लामो समयसम्म टिकेन। २०८२ जेठमा अध्यक्ष बनेका सुजनको पद जेनजी आन्दोलनपछि गुम्यो।

कडरियाले जेनजी आन्दोलनमा बालबालिकाको हत्या भएको विषयमा नैतिकताका आधारमा राजीनामा दिए। कडरियाले राजीनामा दिएपछि महासचिव दीपक धामी अखिलको अध्यक्ष बनेका छन्। निकट नेताहरूका अनुसार कडरियाले राजीनामा दिएकोमा ओली सन्तुष्ट थिएनन्। यसपछि उनको सम्बन्ध ओलीसँग बिग्रिएको निकट नेताहरू जनाउँछन्। एमालेको एघारौँ महाधिवेशनमा ओलीकै हातबाट कडरिया महाधिवेशन प्रतिनिधि बनेका थिए।

‘मैले राजीनामा दिएँ तर मलाई कुनै न कुनै जिम्मेवारी चाहिन्छ भन्दा प्रतिनिधि बनेँ। त्यो मेरो अधिकार थियो,’ कडरिया सम्झन्छन्। उनी पार्टीको महाधिवेशनमा समेत ओलीकै पक्षमा थिए।

‘अहिलेको चुनावी परिणाम नेतृत्व परिवर्तनको हुनुपर्छ भन्ने छ। नेतृत्वमा सुहाङ (सुहाङ नेम्बाङ) स्तरका नेताहरूलाई ल्याउनुपर्छ,’ कडरिया भन्छन्। कडरिया लामो समयदेखि ओली पक्षमै थिए। उनी अखिलको सचिव हुँदै अध्यक्षसम्म बन्दा पनि ओलीकै पक्षमा थिए। यति मात्र होइन, उनी ओलीलाई ‘मार्गदर्शक’ मान्थे। ‘महाभारतमा कृष्ण आफैँ लड्न सक्थे नि। किन अर्जुनलाई पठाएर ओली बा भनेका कृष्ण हुन्। उहाँ अब लड्न जाने होइन, अभिभावक बनेर बस्ने हो,’ कडरिया भन्छन्।

एमालेको एघारौँ महाधिवेशनमा पनि कडरियाले ओलीलाई नै भोट हालेका थिए। ‘मैले नेतृत्वमा विकल्प देखिनँ। ओलीको विकल्प ईश्वर पोखरेल होइन भन्ने लागेर ओलीलाई नै भोट हालेको थिएँ, तर प्यानलमा चाहिँ भोट हालिनँ,’ उनी भन्छन्।

कडरिया पार्टीमा रूपान्तरणका लागि आफू मात्र होइन, अन्य नेतालाई पनि समेट्ने योजनामा छन्। ‘सबै संगठित भएर एमाले जिताउने काममा लाग्नुपर्छ,’ कडरिया थप्छन्। उनका अनुसार एमाले अहिले संकटमा परेको छ। पार्टी स्थानीय तहको चुनावपछि झनै कमजोर हुने उनको बुझाइ छ। ‘हामी यही नेतृत्व लिएर स्थानीय तहमा जाने हो भने पार्टी सकिन्छ। त्यो कुरा बुझ्नुपर्छ,’ उनले भने।

ओलीको विकल्प चाहिन्छ : नवीना लामा 

कुनै बेला ओलीको खम्बा नेतृ भनेर चिनिने नवीना लामा अचेल पुस्तान्तरणरहस्तान्तरण भन्दै युवा भेलातिर देखिन्छिन्। उनी पार्टीको आठौँ महाधिवेशन ९२०६५ साल० सम्म झलनाथ खनाल निकटस्थ थिइन्। त्यसपछि ओलीका पक्षमा लागिन्। ‘संघर्ष गरेको नेता हो भनेर मसहितका नेताहरू झलनाथ-माधवभन्दा ओलीकै पक्षमा लाग्यौँ,’ नवीना सम्झिन्छिन्। त्यसबेला उनी अखिलको महासचिव थिइन्। पछि ओलीकै साथ पाएर अखिलको अध्यक्ष बनिन्।

लामाले दीपक गौतमलाई हराएर अध्यक्ष बनिन्। २०७४ को चुनावपछि उनी समानुपातिक सांसद बनिन्। ‘म योग्य थिएँ, ओलीको साथ नपाएको भए सांसद बन्ने थिइनँ,’ लामा भन्छिन्। उनी अहिले पुस्तान्तरणका पक्षमा छन्। ‘नेतृत्वको विकल्प खोज्नुपर्छ, ओली बा अभिभावक बस्नुपर्छ,’ लामा भन्छिन्।

लामा तिनै नेतृ हुन्, जसले एमाले विधान महाधिवेशनअघि ९२०८२ भदौ २०-२२० मात्रै पनि ओलीको विकल्प नदेखेको बताएकी थिइन्। जेनजी आन्दोलनपछि उनी फेरिइन्। त्यसपछिका बैठकमै पनि ओलीको विकल्प खोज्नुपर्ने बताएको नवीना सुनाउँछिन्।

‘जेनजी आन्दोलनको धक्कापछि नेतृत्व फेर्नुपर्छ भन्ने म एकमात्र थिएँ,’ नवीना भन्छिन्, ‘मैले सुरेन्द्र पाण्डे, योगेश भट्टराईको पक्षधरता लिएर भनेको थिइनँ, केवल पार्टी बचाउन भनेकी थिएँ।’

फागुन २१ को निर्वाचनपछि त झनै उनलाई एमालेको नेतृत्व फेर्नुपर्छ भन्ने लाग्छ। ‘महाधिवेशनमा जसरी ओली विपक्षको प्यानल सोत्तर भयो, त्यसपछि त झनै नेतृत्वको विकल्प चाहिन्छ भन्नेमा म पुगेँ,’ उनी भन्छिन्। लामा त्यसबेला केन्द्रीय सदस्यमा पनि लडिन्, तर टिममा नपरेकोले जित्न सकिनन्।

उनी निकट नेताहरूका अनुसार, नवीनाले ओलीलाई भेट्दा समेत राजीनामाको कुरा गर्थिन्। खासमा उनले ओलीकै टिममा राख्न अनुरोध पनि गरेकी थिइन्। ओलीले आफ्नो विरोध गरेको भन्दै टिममा राखेनन्। त्यसपछि त झनै विपक्षमै खुलिन्। ‘मलाई टिममा पर्ने-नपर्ने ठूलो कुरा भएन। तर पार्टी जोगाउनुपर्छ भनेर लागेकी हुँ,’ नवीना भन्छिन्।

नेतृत्व फेर्नैपर्छ :  नरेश रोकाया 

एमालेको ११औँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्य बनेका नेता हुन् नरेश रोकाया। नरेश लामो समय एमालेमा ओलीका पक्षमा थिए। समीक अध्यक्ष हुँदा उनी शक्तिशाली महासचिव थिए। त्यसबेला उनी समीकजत्तिकै ओली र संस्थापनको पक्षमा खुल्थे। भावी अध्यक्षका रूपमा उनलाई हेरिए पनि उमेरहद ९३२० लाग्दा उनी बाहिरिए। तर पनि निरन्तर ओलीकै पक्षमा लागिरहे। जेनजी आन्दोलनपछि भने नरेश मौन थिए।

‘मैले गएको महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धी नै भेटिनँ। त्यसले मलाई मात्र होइन, युवा पंक्तिलाई निराश बनायो,’ उनी भन्छन्। एमाले अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल भिडेका थिए। नरेश युवा पंक्ति वा दोस्रो पुस्ताबाट अध्यक्ष हुनुपर्ने आवाज उठाएका थिए। दोस्रो पुस्ताबाट कोही तयार भएनन्।

त्यसपछि प्रतिनिधिसभा-राष्ट्रियसभाका उम्मेदवार चयनमै रोकायाको प्रश्न थियो। ‘युवा आउनुपर्छ भन्ने थियो, तर त्यसअनुसार टिकट वितरण भएन,’ रोकाया भन्छन्, ‘राष्ट्रियसभामा पनि टिकट वितरण सन्तोषजनक भएन। यसैले हामी नेतृत्व फेर्नुपर्छ भन्नेमा पुग्यौँ।’

उनी अब पार्टी नेतृत्व मात्र होइन, सबै संरचना विघटन हुनुपर्ने बताउँछन्। ‘संक्रमणकालसम्मका लागि एउटा नेतृत्व लिएर जाऔँ, त्यसपछि महाधिवेशनमा जाऔँ। तर नेतृत्व फेर्नैपर्छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast