कोदारी राजमार्ग पाँच दिनदेखि ठप्प

हिमाल प्रेस २० वैशाख २०८३ ७:५९ | Sunday, May 3, 2026
8
SHARES
कोदारी राजमार्ग पाँच दिनदेखि ठप्प

सिन्धुपाल्चोक- केही दिनदेखि भइरहेको सामान्य वर्षाका कारण तातोपानी नाकास्थित कोदारी राजमार्ग पाँच दिनदेखि पूर्ण रूपमा बन्द भएको छ । नाकाको एक किलोमिटर दुरीमा इको पहिरोले नाका सडक पूर्ण रूपमा बन्द भएको हो । इको पहिरो क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीमा मिसिएकाले मालवस्तु बोकेका कन्टेनरलगायत सम्पूर्ण यातायातका साधन पूर्ण रूपमा बन्द भएका छन् । इको पहिरो विगत वर्षदेखि नै निरन्तर झर्ने र सामान्य वर्षाले पनि सडक भासिँदै आएको छ ।

पाँच दिनदेखि सडक बन्द हुँदा चीनबाट तातोपानी नाका हुँदै तातोपानी भन्सार कार्यालयमा जाँचपासका लागि आउन थालेका कन्टेनरका फलफूलजन्य सामान कुहिन थालेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सदस्य शारदाप्रसाद पराजुलीले जानकारी दिनुभयो । चीनबाट यस क्षेत्रमा आइपुगेका दर्जन बढी कन्टेनरमा रहेका स्याउ, लत्ताकपडा, विद्युतीय सामग्रीलगायतका सामान बाटोमै रोकिएका छन् ।

इको पहिरो खुलाउन ठुला मेसिन प्रयोग गर्नुपर्ने भएको छ । इको पहिरोबाट लेदो आइरहेको छ भने तलबाट सडक भासिँदै गएको छ । ठुला मेसिन प्रयोग गरेर इको पहिरो खुलाएमा पहिरो माथिका २५० भन्दा बढी घरधुरी, गुम्बा, विद्यालय, स्वास्थ्य चौकीलगायतका भौतिक संरचना बग्ने उच्च जोखिम रहेको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । पहिरो माथिका बस्ती संरचना जोगाउँदै बन्द सडक खुलाउन प्राविधिक टोली आवश्यक रहेका उहाँको भनाइ छ ।

सडक डिभिजन कार्यालय चरीकोटका अनुसार इको पहिरो नियन्त्रण गर्न सडकमुनि भोटेकोशी नदी किनाराबाट पिल्लर उठाउन सुरु गरिए पनि बिचमा काम रोकिएको थियो । पहिरो नियन्त्रण र सडक निर्माणका काम गर्ने चिनियाँ कम्पनीले हाललाई काम रोकेको सिन्धुपाल्चोक क्षेत्र नं। १ का सङघीय सांसद भरतप्रसाद पराजुलीले बताउनुभयो ।

प्रकाशित: २० वैशाख २०८३ ७:५९ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast