काठमाडौँ- काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ।
शनिबार बालाजुस्थित विष्णुमती नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ। यसअघि शुक्रबार बल्खु लगायतका क्षेत्रमा रहेका अतिक्रमित बस्ती हटाइएको थियो भने स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको काठमाडौँ जिल्ला प्रशासनले जनाएको छ।
हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको छ।
बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ भने वास्तविक भूमिहिन र सुकुम्बासीको पहिचानका लागि रेकर्ड राख्ने काम समेत भइरहेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ।



