पोखरामा मनाइयो २५७० औँ बुद्धजयन्ती

हिमाल प्रेस १८ वैशाख २०८३ २०:१६ | Friday, May 1, 2026
16
SHARES
पोखरामा मनाइयो २५७० औँ बुद्धजयन्ती

पोखरा- पर्यटकीय राजधानी पोखरामा २५७० औैं बुद्धजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ।

शुक्रबार पोखरा सभागृहमा आयोजित समारोहमा हेमजा गुम्बाका प्रमुख डुपसिंह रिम्पोछेले भगवान् बुद्धले दिएका उपदेश आज संसारले नै मनन गरिरहेको जनाए। उनले बुद्ध जन्मभूमि भएका नाताले हामी नेपाली थप गौरवान्वित हुनुपर्ने धारणा राखे। धर्मदेशना गर्दै उनले बुद्धभूमिमा शान्तिका अग्रदूत बुद्धको उपदेशलाई सबैले आत्मसात गर्नुपर्ने बताए। बुद्ध धर्ममा विभिन्न यान भए पनि सबैको उद्देश्य बुद्ध शिक्षाकै प्रचार भएको पनि उनले जानकारी दिए।

उक्त समारोहबीच बुद्ध धर्मको संरक्षण एवं प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएकोमा बौद्ध अर्घौं सदन सल्लाहकार समिति अध्यक्ष क्या. भुवनसिंह गुरुङ र बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङलाई सम्मान गरिएको थियो। यस्तै २५७० औं बुद्धजयन्ती स्मारिकासमेत लोकार्पण गरियो। सम्मानित व्यक्तित्व भुवनसिंह गुरुङले सम्मानले सामाजिक सेवामा लाग्न थप हौसला दिएको बताए।

बुद्ध जयन्ती समारोह समिति कास्कीका कावा अध्यक्ष चन्द्रलक्ष्मी गुभाजूको अध्यक्षतामा भएको सभापूर्व शान्ति पदयात्रा निस्किएको थियो। पोखरा–३, नदीपुरस्थित धर्मशीला बुद्धविहारबाट निस्किएको शान्ति पदयात्रा महेन्द्रपुल, चिप्लेढुंगा, नयाँसडक हुँदै पोखरा सभागृहमा धर्मसभामा परिणत भएको हो।

भगवान् बुद्धको प्रतिमा रथमा राखी बाजागाजा, झाँकीसहितको पदयात्रामा पोखराका ४० भन्दा बढी गुम्बा, विहार तथा संघसंस्थाको सहभागिता थियो।

सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण दिवस त्रिसंयोग परेको दिन वैशाख पूर्णिमालाई बुद्धजयन्तीको रुपमा मनाउने गरिन्छ।

प्रकाशित: १८ वैशाख २०८३ २०:१६ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast