तानसेनमा ‘माण्डव्य ऋषिको रथयात्रा’

हिमाल प्रेस १८ वैशाख २०८३ १९:२० | Friday, May 1, 2026
14
SHARES
तानसेनमा ‘माण्डव्य ऋषिको रथयात्रा’

पाल्पा- तानसेन नगरपालिका-९, दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा निकालिएको छ। माण्डव्य ऋषिको तपोभूमिका रूपमा रहेको माडीफाँटको दक्षिण दमकडास्थित माण्डव्य ऋषिको मन्दिरबाट आज उक्त रथयात्रा निकालिएको हो।

हरेक वर्ष वैशाख पूर्णिमाका दिन रथयात्रा निकाल्ने गरिन्छ। मन्दिर स्थापना भएको ३७७ वर्ष पूरा भएको अवसरमा पहिलोपटक यहाँ रथयात्रा निकालिएको थियो। यो चौथो रथयात्रा हो।

माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका तानसेनको आयोजना र तानसेन नगरपालिका–९ वडा कार्यालयको सहआयोजनामा रथयात्रा निकालिएको हो। रथयात्रा तिन्टीआप, दमकडा र अम्लेयान क्षेत्रमा घुमाइएको थियो। रथयात्राका क्रममा स्थानीय भजनकीर्तन, पञ्चेबाजा, ब्याण्डबाजासहित सङ्घसंस्था, टोल विकास संस्था, स्थानीय आमा समूहको सहभागिता रहेको थियो।

माण्डव्य ऋषिको योगदानलाई जनमासमा पुर्‍याउन र वैदिक परम्परागत कला, संस्कृति जोगाउन विगत चार वर्षदेखि रथयात्रा निकाल्न थालिएको माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए। छ हजार वर्ष अगाडि माण्डव्य ऋषिले तपस्या गरेको तपोभूमि भएकाले यसको धार्मिक तथा ऐतिहासिक महत्व रहेको उनको भनाइ छ। ऋषिकै नामबाट नामकरण गरिएको माडीफाँटको किनार दमकडामा मन्दिर स्थापना गरिएको छ।

प्रकाशित: १८ वैशाख २०८३ १९:२० | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast