काठमाडौँ- मित्र मुलुक अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत एवं भारतका लागि आवासीय राजदूत सर्जियो गोरले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो र अन्तरक्रियामुखी बनाउन निजी क्षेत्रको साझेदारी गर्दै व्यापार र लगानी सहकार्य विस्तारमा जोड दिएका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्दै उनले यस्ता धारणा राखेका हुन।
भेटका क्रममा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विशेषगरी व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने, निजी क्षेत्रबीचको साझेदारी बढाउने र दीर्घकालीन आर्थिक संलग्नता गहिरो बनाउने विषयमा दुवै पक्षले जोड दिएको पनि उल्लेख छ। नेपालमा ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, पर्यटन तथा कृषि क्षेत्रमा अमेरिकी लगानीको सम्भावना रहेको औँल्याउँदै यस्ता क्षेत्रमा सहकार्य बढाउन सकिनेमा अमेरिकी अधिकारीले सहमति व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार छलफलमा नेपालले हाल अघि बढाइरहेका आर्थिक सुधार, लगानीमैत्री वातावरण निर्माणका प्रयास तथा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका योजनाबारे जानकारी गराइएको थियो। त्यसैगरी, अमेरिकी पक्षले पनि नेपालसँगको सहकार्यलाई केवल विकास सहायता (एड) मा मात्र सीमित नराखी व्यापार र लगानी केन्द्रित साझेदारीतर्फ लैजान चाहेको संकेत दिएको बताइएको छ।
भेटमा द्विपक्षीय सम्बन्धका परम्परागत आधार ‘शिक्षा, विकास सहयोग, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण’लाई निरन्तरता दिँदै अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै, नियमित उच्चस्तरीय संवाद, सरकारी संयन्त्रबीच समन्वय र निजी क्षेत्रको सक्रिय सहभागितामार्फत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने समझदारी पनि व्यक्त भएका छन्।

यस्तै गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका छन्। भेटमा लगानी र व्यावसायिक साझेदारीका विषयमा छलफल भएको थियो।
नेपाल र अमेरिकाबीच लामो समयदेखिको मित्रतापूर्ण सम्बन्ध रहँदै आएको छ। पछिल्ला वर्षहरूमा पूर्वाधार, ऊर्जा तथा मानव विकासका क्षेत्रमा अमेरिकी सहयोग उल्लेखनीय रहेको छ। अहिलेको सन्दर्भमा भने दुवै देशबीचको सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउनेतर्फ ध्यान केन्द्रित हुँदै गएको देखिन्छ।
उनी भारतमा राजदूतका रूपमा यस क्षेत्र हेर्ने जिम्मेवारीसहित आएका थिए। दिल्ली आएपछि उनी दक्षिण एसियाली देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग उच्चस्तरीय भेटका निम्ति सक्रिय छन्। उनी भारतका राजदूत भए पनि यो क्षेत्र हेर्ने जिम्मेवारी राष्ट्रपति ट्रम्पसँग लिएर आएका व्यक्ति हुन्। उनले प्रधानमन्त्री बालेनलाई पनि भेट्न प्रयास गरिरहेका छन्। यो चाहना उनले परराष्ट्रमन्त्री समक्ष पनि व्यक्त गरेका छन्।
अमेरिकी पक्षले दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूरको भ्रमणमा पनि भेटका लागि जोड दिए पनि त्यो जोड सफल भएन। उनी फर्किएको १० दिन नहुँदै गोर बिहीबार साँझ काठमाडौँ ओर्लेका हुन्। उनी शनिबार साँझ दिल्ली फर्कनेछन्।



