बुटवल- पाल्पाको तिनाउ खोलामा ३.४४ मेगावाट विद्युत उत्पादन हुने भएको छ। भिजन लुम्बिनी लिमिटेडले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी ७० करोड लागतमा आयोजना बन्न लागेको जानकारी दिएको हो।
तिनाउ खोला साना जलविद्युत आयोजनाको काम नमः बुद्ध हाइड्रो प्रालि मार्फत हुने भएको छ। आयोजना र लुम्बिनी विकास बैंकसँग लगानी सम्झौता गरी लगानी स्रोत सुनिश्चितता भइसकेको भिजन ग्रुप अफ कम्पनीका अध्यक्ष जगतबहादुर पोख्रेलले बताए। उनले सामूहिक लगानी, समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताए। यसमा बैँक र संस्थाको ५०–५० प्रतिशत लगानी रहने छ। आयोजनामा लगानी गर्न पोखरेलले पाल्पा तथा रुपन्देहीवासीलाई आग्रह पनि गरे।
भिजन लुम्बिनी लिमिटेडको हालको लगानी करिब १४ करोड छ। राइट सेयर र आईपीओ खोल्ने तयारी गरिएको छ भने यसपछि भिजनको पुँजी ५१ करोड पुग्ने अध्यक्ष पोखरेलको भनाइ छ।
हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षको काम सकिएर अब शिलान्यास मात्रै बाँकी छ। भिजनले केही समय अगाडि पोखरा कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।
भिजनले बज्रमादी ३१ मेगावाट,चमेलिया २० मेगावाट लगायत अहिले १२ वटा ठूलो प्रोजेक्टमा लगानी गरी काम गरिरहेको छ। लिमिटेडका बोर्ड सदस्य राजीव गौतमले महाकाली र कर्णालीमा पनि ठूला हाइड्रोपावर निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताए।
साना-साना लगानीकर्तालाई जोडेर भिजन लुम्बिनी कम्पनी स्थापना गरिएको छ। भिजनले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, हस्पिटालिटी, कृषि, शिक्षा, इन्स्योरेन्स, वित्त, रियल स्टेट र आईटी क्षेत्रमा समेत लगानी गरिसकेको छ।
विक्रम संवत् २०७३ सालबाट सुरु भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजेको सञ्चालक कुलबहादुर केसीले बताए। कार्यक्रममा लगानीकर्ता योगेश घिमिरे,अनुपमान सैजू,गोबिन्दप्रसाद लामिछाने,भिजन लुम्बिनीकी ब्यवस्थापक सरस्वती पोखरेलले आयोजनाका लागि सबैको साथ आवश्यक रहेको बताए।




