पीडित चेत संस्कृति भनेको मानिसले आफू पीडित भएको जिकिर गरी समाज तथा राज्यबाट नाजायज लाभ लिन खोज्ने प्रवृत्ति हो। यस विषयमा पश्चिममा धेरै अध्ययन भएका छन्। दक्षिण एसियाली समाजमा उपनिवेशवादी इतिहास तथा एकतन्त्रीय शासन पद्धतिले यस्तो सोचको विकासमा विशेष भूमिका खेलेको छ। फलस्वरूप समाजमा उक्त प्रवृत्तिले गहिरो छाप छोडेको छ।
दुईचार महिनाअघि अझ भनौँ जेनजीको आन्दोलनअघि एक कांग्रेसी नेताले धर्म तथा शासन प्रणालीजस्ता राष्ट्रिय महत्त्वका मुद्दा जनमत संग्रहमार्फत टुंग्याइनुपर्नेमा हामी चुक्यौँ भन्ने अभिव्यक्ति दिएका थिए।
उस्तै विचार राख्ने व्यक्तिका नाताले म पनि यस्ता विषयमा क्लबहाउसलगायतका सार्वजनिक मञ्चमा बेलाबखत बोल्दै आएको छु। यस क्रममा मैले प्रशस्तै आलोचना र गालीगलोजसमेत सामना गर्नुपरेको छ।
क्लबहाउसमा जब मैले जनमतसंग्रहको कुरा उठाएँ। अमेरिका निवासी नेपाली मूलका एक माओवादी समर्थक प्राध्यापकले तिखो व्यंग्य गर्दै सोधे- के हामी गु खान पाऊँ भनेर पनि जनमत गरौँ त?
यसमा मेरो कुनै जवाफ भएन। म शान्त रहन बाध्य भएँ।
केही मानिसले मैले व्यक्त गरेको अर्को एउटा विचारमाथि खुब खेदो गरे। मैले भनेको थिएँ, कसैको पनि शारीरिक विशेषतालाई मात्र आधार बनाएर प्रतिभाको मूल्यांकन गर्नु हुँदैन।
मेरो भनाइ तोडमोड गरेर धेरैले रोटी सेक्ने प्रयास गरे। माओवादीकी पूर्वकार्यकर्ताले त मलाई ‘पशु’ शब्द प्रयोग गर्न पनि संकोच मानिन्। कतिले जिब्रो थुत्नुपर्छ भने। पुष्टि गर्ने क्रममा फेरि थपेँ, जैविक रूपमा अंगले मात्र मानिसको लैंगिक पहिचान छुट्याउँछ, त्यसैले मेरो भनाइ गलत होइन।
यस विषयलाई तिलको पहाडजस्तो बनाइयो। हिजो माओवादी भएर हिँडेका र हाल समाजमा विभिन्न बहानामा स्थापित हुन प्रयास गर्नेहरू मेरा विरुद्ध जमेर लागे। मेरो अभिव्यक्ति नक्कल गरेर कुलकुटुम्बकहाँ पठाएर चरित्रहत्याको प्रयास गरे।
यतिबेला मलाई ओशोप्रेमी एउटी महिलाको कुरा याद आयो। ती महिला हुन् मा धर्मज्योति। ओशो संसारमा महिलालाई मा र पुरुषलाई स्वामी भनिन्छ।
सन् १९७० तिर ओशोको अनुयायी बन्नुलाई खुलेआम यौन व्यवहार अपनाइनु भन्ने दृष्टिले हेरिन्थ्यो। अहिले पनि पुराना पुस्ताबीच यसमा खासै कमी आएको छैन। नयाँ पुस्ताले यस्तो जीवनशैली अपनाइसकेका छन्। ‘लिभिङ टुगेदर’ यसको गतिलो उदाहरण हो। ओशोले भनेका छन्, ‘एकदुई वर्ष सँगै बस, मिलेर बस्न सकिन्छ भन्ने लागे बिहे गर नत्र आआफ्नो बाटो समात।’ एक दिन एकजनाले धर्मज्योतिलाई भनेछन्- ‘मेरे साथ चलोगी?’ तरुनी धर्मज्योतिलाई समस्या पर्यो। उनले भनिछन्, ‘आज में बुक्ड हुँ।’
‘त्यो मूर्खसँग के तर्क गर्नु? यसलाई पन्साउने सजिलो उपाय भनेर त्यो भनिदिएँ’, उनले भनिन्। मलाई पनि त्यस्तै भो। अंगका हिसाबले मात्र मानिसको प्रतिभा जाँच्न मिल्दैन भनिदिएँ। महिला रहिछन्, कडा माओवादी। उनलाई के चाहियो र?
बिस्तारै साथीहरू पार्टी आबद्धतातिर लागे। हाम्री कामरेडको अंगको कुरो? मानौँ उनकी कामरेड हीराले बनेको होऊन्। हीरा भन्दा पो अर्को कुरो याद आयो। लिम्बू भाषा, जो म बाल्यकालमा खुब जान्दथेँ, मा हीरा शब्दको अर्थ महिलाको जननेन्द्रिय हुन्छ।
एकजना हीरालाल नाम गरेका सीडीओ साहेब आएछन्, पाँचथरमा। हाम्रा लिम्बुनी दिदी, फुपू, काकी, छेमाहरू हीरालालको अनुहार हेर्न फिदिम गएका थिए रे। झन्डै त्यस्तै भो मलाई पनि।
यी घटनाले मलाई नेपाली समाज नैतिक रूपमा कति गिरेछ र आफ्नो व्यक्तिगत लाभका लागि मानिसले कस्तोसम्म व्यवहार गर्छ भन्ने अनुभव भयो।
नर्डिक मुलुकमा बसोबास गर्ने एक नेपाली युवतीले त ममाथि लैंगिक हिंसा गरेको आरोपसमेत लगाइन्। छद्म नामले आउने ती युवतीको पूरा नाम र उनको सामाजिक सुरक्षा नम्बर पाएको भए म नेपालस्थित युरोपेली संघमा कारबाहीका लागि निवेदन दिन्थेँ।
कतिपय साथीहरूले यस्तो सुझाव पनि दिएका थिए। अर्की छद्मभेषी अमेरिकी नेपालीले त मलाई क्लब हाउसमा ब्लक गरिन्। यस प्रकारको आरोप र दोषारोपणको खेलले मेरो परिवार र आफन्तलाई गहिरो असर पुर्यायो। केही व्यक्तिहरूले त छद्म नाम प्रयोग गरेर मलाई आक्रमण गर्ने धम्कीसमेत दिए। यद्यपि युरोपतिरै बसोबास गर्ने एक मित्रले दृढतापूर्वक मेरो पक्षमा वकालती गरे र मलाई कुटपिट हुनबाट बचाए।
अमेरिका र अस्ट्रेलिया बस्ने केही साथीहरू मेरो पक्षमा डटेर लडे। अहिले मैले व्यक्तिगत रूपमा उनीहरूलाई कृतज्ञता ज्ञापन गर्न पनि सक्दिनँ। कारण हो, उनीहरूको चिनारी। उनीहरू पनि उपनामले बोल्थे। चिनेका एक मित्रलाई भने सिड्नीमा भेटेरै धन्यवाद दिएँ। उनले मिठो कफी र बर्गर ख्वाए।
यस घटनामा मेरो परिवारका सदस्यहरूले सबै कुरा नजिकबाट अवलोकन गरेका थिए र मलाई दोषी ठानेनन्। त्यसैले मेरो परिवार जोगियो। नभए मेरो छोराले एकल आमाको सन्तानका रूपमा हुर्किनुपथ्र्याे होला।
सामाजिक न्यायका पक्षधरहरूले यस्ता संवेदनशील विषयलाई शान्त भएर आलोचनात्मक दृष्टिकोणबाट बुझ्न जरुरी छ। आजको समाजमा आफूलाई पीडित देखाएर सामाजिक मान्यता वा पहिचान खोज्ने प्रवृत्तिले गलत बाटो समातेको छ। यो बाटोले केही समयको फाइदा त दिन सक्छ, तर दीर्घकालमा व्यक्तिको गरिमा कमजोर बनाउँछ।
पीडित मानसिकता संस्कृतिको स्वरूप
खोजकर्ताहरूका अनुसार पीडित चेत संस्कृति भन्नाले यस्तो नैतिक संरचनालाई जनाउँछ, जसमा व्यक्तिहरूले आफूलाई पीडितका रूपमा प्रस्तुत गरेर सामाजिक मान्यता प्राप्त गर्न खोज्छन्। योग्यता वा उपलब्धि होइन, मात्र दुःखको प्रदर्शनद्वारा।
यस्तो प्रवृत्तिका कारण फरक क्षमता वा पहिचानमा भएका मानिसलाई राजनीतिक लाभ र सामाजिक वर्चस्व कायम गर्न सहयोग गर्दछ। मानिसहरू आफूमा व्यक्तिगत गुण विकास गर्नुभन्दा संवेदनशील विषय उठाएर नाजायज लाभ लिन पल्किन्छन्।
नेपाली सन्दर्भमा पनि यस्तो प्रवृत्तिका उदाहरण प्रशस्त भेटिन्छन्। जस्तै- विभिन्न जातजाति तथा दलित समुदायमाथि अपमानजनक उखानटुक्काहरूको प्रयोग, महिलालक्षित अशोभनीय शब्दको प्रयोग, शरीरको आकार, रङ वा हाउभाउका आधारमा गरिएको अपमान जसलाई ‘बडी सेमिङ’ भनिन्छ, शारीरिक विशेषताहरूको वस्तुवादीकरण।
केही अधिकारकर्मीहरूले यस्ता मुद्दाहरूलाई आवश्यकताभन्दा बढी तन्काएर आफ्नो पहिचान स्थापित गरेका छन्। कतिपयमाथि त सम्बन्ध अन्त्य गरेको लामो समयसम्म पनि पूर्वपतिको थर प्रयोग गरेर आफूलाई अधिकारकर्मीका रूपमा स्थापित गर्ने प्रयास गर्छन् भन्ने आरोप पनि छ।
यस्ता पात्रहरू जो टाउकोमा सनग्लास अड्याएर विदेशी शैलीमा साथीसंगीहरूसँग गफिन रमाउँछन्, उनीहरू आफूलाई पीडितको कोटीमा प्रस्तुत गरी राज्य तथा समाजबाट नाजायज लाभ लिन्छन्। उनीहरू प्रायः पीडित मानसिकता संस्कृतिलाई बैसाखी बनाएर हिँडिरहेका देखिन्छन्। तिनीहरूको ह्विलचेयरसमेत पीडित मानसिकताको बोझले ग्रस्त देखिन्छ।
पीडित मानसिकताका सामान्य विशेषताहरू जिम्मेवारीबाट पन्छिनु, अरूमाथि दोष थोपर्नु र निर्णय क्षमताको अभाव हुनु हुन्। जब मानिस आफ्नो कर्तव्य पूरा गर्न असफल हुन्छ, ऊ प्रायः बहाना खोज्छ। आफूलाई पीडित घोषणा गर्छ र सहानुभूति वा लाभ लिन अघि सर्छ।
क्षेत्रीय परिप्रेक्ष्य र अनुसन्धानका निष्कर्ष
भारतमा जाति, लिंग र वर्गबीचको अन्तरसम्बन्धले समाजमा विभिन्न तह निर्माण गरेको छ। रश्मी नायर र जोहाना रे वोल्हार्टद्वारा लिखित इन्टरनेसनल कन्ससनेस इन कलेक्टिभ भिक्टिम बिलिफ्स शीर्षकको अध्ययनमा मध्यमवर्गीय दलित महिलाले आफ्नो चिनारीका कारण थप पीडा र भेदभाव सामना गर्नुपरेको उल्लेख छ। आलेख पोलिटिकल साइकोली जर्नलमा सन् २०१९ मा प्रकाशित छ।
यस्ता महिलाले आफ्नै समुदायभित्र स्रोत र पहिचानका लागि प्रतिस्पर्धा गर्नु परिरहेको छ। यस अवस्थालाई लेखकद्वयले प्रतिस्पर्धात्मक पीडितपनको संज्ञा दिएका छन्। यो प्रवृत्ति सीमित समुदायमा मात्र होइन, प्रभावशाली तथा कुलीन वर्गमा पनि देखिन्छ। यस अध्ययनले भारतका हिन्दू बहुसंख्यक समुदायका सदस्य पनि अन्तर सामूहिक द्वन्द्वका सन्दर्भमा कहिलेकाहीँ आफूलाई पीडितका रूपमा स्थापित गर्दछन् भन्ने खुलाएको छ। यस प्रकारको सोचले अन्तरसामूहिक तनाव र नकारात्मक भावना वृद्धि गर्न सक्छ।
पाकिस्तानमा पीडित मानसिकता संस्कृति भाष्य र लैंगिक सम्बन्ध दुवैमा स्पष्ट देखिन्छ। फ्रन्टियर्स इन साइकोलोजी जर्नलमा सन् २०२३ मा प्रकाशित पर्सिभिङ भिक्टिमहुडः कम्प्यासन फर सर्भाइभर एन्ड अक्सेप्ट्यान्स अफ मिथ अफ मेन अक्रोस पाकिस्तानी मेन एन्ड विमिन शीर्षकको एक अध्ययनअनुसार यौनजन्य हिंसाका पुरुष पीडितप्रति समाज तथा राज्यले सहानुभूति नदेखाउने प्रवृत्तिले समस्या थप जटिल तुल्याएको छ।
उक्त अध्ययनले गहन सांस्कृतिक रूपान्तरणको आवश्यकता औँल्याएको छ। जसले यस्ता समस्याको स्थायी समाधान खोज्न सहयोग गर्न सक्छ। पाकिस्तानमा इज्जत बचाउने नाममा गरिने हत्या जसलाई अंग्रेजीमा अनर किलिङ भनिन्छ, ले पुरुषसत्तात्मक सोच अझै बलियो रहेको पुष्टि गर्दछ। पाकिस्तान मानवअधिकार आयोगका अनुसार प्रत्येक वर्ष सयौँ महिला यस्तो हिंसाको सिकार बन्छन्। यस विषयलाई समाजले मौन रूपमा स्वीकार गर्दै आएको छ।
नेपालमा माओवादी द्वन्द्वपछि समाजमा दण्डहीनताको संस्कृति व्याप्त छ। द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनबाट पीडित भएकाहरूले न्याय र पहिचानका लागि संघर्ष गरिरहेछन्। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले सन् २०२० मा गरेको अध्ययनअनुसार नेपालमा न्यायपालिकाले सरकारलाई दिएका आदेश बेवास्ता गर्ने क्रम बढेको छ। सम्बन्धित निकायहरूले यस्ता मुद्दाहरूलाई अभियोजन गर्ने अधिकार नभएका तथा संक्रमणकालीन न्याय प्रणालीमा आबद्ध संस्थामा पठाइदिन्छन्। कथंकदाचित अदालतले मानिसको अधिकारको संरक्षण गर्न आदेश दिए पनि राजनीतिक सट्टेबाजीमा यस्ता विषय साटिन्छन् र पीडितका पक्षमा न्याय हुँदैन। यसको गतिलो उदाहरण पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दालाई लिन सकिन्छ।
नेपालमा सामाजिक सोचले पनि मानसिक स्वास्थ्यलाई असर पारेको छ। अनुसन्धानकर्ताहरू लिजा चेज, रामप्रसाद सापकोटा, डेनियल क्राफा र लरेन्स किर्मायरले ग्लोबल मेन्टल हेल्थ जर्नलमा सन् २०२० मा प्रकाशित गरेको अध्ययनअनुसार कथित तल्लो जातिका मानिसमा चिन्ता र मानसिक तनावको दर उच्च देखिन्छ। तर उनीहरूले आफ्नो पीडालाई भाग्य वा कर्मसँग जोडेर हेर्छन्। यसले उपचारमा समेत बाधा पुर्याउँछ।
पुरुषजन्य मान्यताले घरेलु हिंसालाई सामान्य रूपमा लिने परिपाटी पनि विकास गरेको देखिन्छ। बीएमसी विमिन हेल्थ जर्नलमा २०२० मा प्रकाशित मेन्ज पर्सिप्सन्स अफ डोमेस्टिक भायोलेन्स इन नेपाल विषयक अध्ययनले जनाएअनुसार केही पुरुषहरूले घरेलु हिंसालाई नियन्त्रणको हतियारका रूपमा हेर्ने गर्छन्।
पीडित चेत संस्कृतिप्रति अध्येताहरूका दृष्टिकोण
पीडित चेत संस्कृतिप्रति विश्वभर धेरै अध्ययन भएका छन्। इजरायलको तेलअविव विश्वविद्यालयका प्राध्यापक रहाव गाबेका अनुसार पीडित चेत संस्कृति त्यस्ता व्यक्तिहरूको रणनीति हो, जसमा काम गर्ने क्षमताको अभाव हुन्छ। उनी भन्छन्, ‘यसले मानिसलाई व्यक्तिगत सद्गुणबाट विमुख पारी अभिनय गर्ने पात्रका रूपमा स्थापित गर्दछ।’ अश्वेत अमेरिकी विश्लेषक क्यान्डेस ओवन्स भन्छिन्, ‘पीडित चेत संस्कृतिको प्रचार गर्नु आफैँमा विशेषाधिकारको माग गर्नु हो।’
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका डा. ब्राडली क्याम्पबेल तथा कर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ता डा. जेसन म्यानिङले द राइज अफ भिक्टिमहुड कल्चर पुस्तकमा लेखेका छन्- ‘हाम्रो समाज बिस्तारै सहिष्णु संस्कृतिबाट विमुख भएर पीडित चेत संस्कृतिमा प्रवेश गर्दै छ।’
यस्तो प्रवृत्तिमा विश्वास गर्नेहरू आफू पीडित भएको अभिनय गर्छन् र तेस्रो पक्ष सामाजिक संस्था, सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत लोकप्रियता बटुल्ने प्रयास गर्छन्। न्युयोर्क विश्वविद्यालयका जोनाथन हेड र जर्ज लुकियानफले सन् २०१५ मा द एटलान्टिक जर्नलमा लेखेको लेखअनुसार पीडित चेत संकृतिका कारण अमेरिकी विश्वविद्यालयका विद्यार्थी अल्छी बन्दै गएका छन्। उनीहरूमा ससाना कुरामा निहुँ खोज्ने प्रवृत्ति बढ्दो छ।
हुर्केका सन्तानलाई सामान्य कठिनाइको सामना गर्नबाट जोगाउने आमाबाबुको अनावश्यक प्रवृत्तिले सन्तानमा सहनशीलता र छलफल गर्ने क्षमता घटाउने अध्ययनको निष्कर्ष छ। यसबाट सन्ततिमा त्रास, चिन्ता, र पीडित चेतले स्थान पाउँछ।
बेल्जियमस्थित लुभेन विश्वविद्यालयका खोजकर्तात्रय अल्बा जासिनी, अलियान डेलभान्स्क र बातिया मेस्किताले युद्ध प्रभावित क्षेत्रहरू जस्तै- इजरायल, प्यालेस्टाइन, बोस्निया, हर्जेगोभिनामा भाषिक समुदायहरूको सामूहिक पीडित मानसिकतामाथि लामो अध्ययन गरेका छन्। उनीहरूका अनुसार यस्ता समुदायले आफूहरूलाई अर्को समूहले जानाजानी दुःख दिएको विश्वास गर्छन्।
यस्तो मानसिकता भएका समूहले आफ्नै समुदायमाथि आवश्यकताभन्दा बढी सहानुभूति र सम्मान प्रदर्शन गर्दछन्। यसबाट उनीहरू अन्य समुदायप्रति क्रोध र घृणा फैलाउँछन्। अनि बहिष्करण तथा प्रतिशोधपूर्ण भावना विकास हुन्छ।
इजरायलीहरू प्यालेस्टिनी बालबालिकाप्रति र प्यालेस्टिनीहरू इजरायली अशक्तप्रति सहानुभूति देखाउँदैनन्। पश्चिम एसियामा जारी युद्धमा अझ यस्ता घटना दोहोरिएका छन्। यसबाट अन्तरसामूहिक सम्बन्ध विकास र सामाजिक सहकार्य गर्ने क्षमतामा कमी आउँछ। महत्त्वपूर्ण कुरा के छ भने यस्ता समूहका सदस्यले आफ्नो चिनारीलाई अनावश्यक रूपमा महत्त्व दिँदा उनीहरू समाजका अन्य सदस्यका तुलनामा बढी अमानवीय बन्छन्। अध्ययनअनुसार त्यस्ता मानिस सन्की हुन्छन्। उनीहरूमा अरूसँग घुलमिल हुने क्षमतासमेत कमजोर भएको पाइन्छ।
पीडित चेतले न्याय तथा सुधार प्रक्रियामा मद्दत पुर्याउँछ, तर त्यसैमा लिप्त हुने प्रवृत्तिले व्यक्तिगत विकास रोक्छ। सामाजिक एकतालाई कमजोर बनाउँछ र खुला संवादमा बाधा पुर्याउने सम्भावना रहन्छ। त्यसैले यस्तो सन्तुलित दृष्टिकोण आवश्यक छ जसले समाजका सदस्यहरूलाई वास्तविक पीडा स्वीकार्दै पहिचानमा अनावश्यक रूपमा लिप्त हुनबाट जोगाओस्।
[ओझा नेपाली किसानको बुझ्ने क्षमता विषयमा पोस्टडक्टरल अनुसन्धानमा तल्लीन छन्।]
प्रतिक्रियाका लागि : [email protected]





