त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले प्रधानमन्त्रीलाई पठाए राजीनामा

हिमाल प्रेस १७ वैशाख २०८३ १४:२३ | Thursday, April 30, 2026
20
SHARES
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले प्रधानमन्त्रीलाई पठाए राजीनामा

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष (रेक्टर) र रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन्। उपकुलपति प्रा.डा.दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले बिहीबार छुट्टाछुट्टै राजीनामापत्र विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई पठाएको जानकारी दिएका छन्।

शिक्षाध्यक्ष केसीले हिमालप्रेससँग भने,‘राजीनामा दिएका छौं, पत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको छ।’ प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको ह्वाट्सएपमा समेत जानकारी गराइएको केसीले जानकारी दिए।

उनीहरूले नयाँ सरकारलाई सहज रूपमा काम गर्न मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। उपकुलपति अर्याल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए भने शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा नियुक्त भएका थिए।

त्रिवि पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ। वर्तमान सरकारले विश्वविद्यालयका राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई हटाउने गरी अध्यादेश ल्याउने तयारी गरेसँगै राजीनामा आएको बताइएको छ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश सिफारिस गरेको र हाल राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको जनाइएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १४:२३ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast