काठमाडौँ- नेपाल टेलिकमले स्याटेलाइट प्रविधिमा आधारित भीस्याट तथा अन्य प्रविधिमार्फत देशका विकट तथा दुर्गम क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ।
हाल ३८ स्थानमा स्याटेलाइटमा आधारित जीएसएम मोबाइल सेवा सञ्चालनमा रहेको छ भने चालु आर्थिक वर्षमा डाेल्पाको उपल्लो डोल्पास्थित कुगाउँ र निजाल, दाेलखाको ना-गाउँ (च्छो-रोल्पा) र रसुवाको चन्दनबारीमा सेवा विस्तार गरिएको छ।
कम्पनीका अनुसार सबैभन्दा बढी १४ साइट डोल्पा जिल्लामा रहेका छन् भने हुम्ला र मुगुमा पाँच-पाँच स्थानमा सेवा सञ्चालनमा छ। यसैगरी मनाङ, ताप्लेजुङ, साेलुखुम्बु, दार्चुला, बाजुरा र जुम्लालगायतका जिल्लाका दुर्गम बस्तीहरूमा पनि यस्ता साइट सञ्चालनमा रहेका छन्।
टेलिकमले भौगोलिक रूपमा कठिन तथा न्यून जनसंख्या भएका क्षेत्रमा सेवा विस्तारका लागि भीस्याट प्रविधिको प्रयोग गर्दै आएको छ। यस्ता स्थानमा दूरसञ्चार पूर्वाधार स्थापना गर्न हेलिकप्टरमार्फत उपकरण ढुवानी गरी सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ। यस्ता परियोजनाबाट प्रत्यक्ष व्यावसायिक लाभ नभए पनि ‘राष्ट्रको सञ्चार’ भन्ने मूल नारालाई सार्थक बनाउन सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले आगामी दिनमा यी साइटहरूलाई थप आधुनिक प्रविधिमार्फत स्तरोन्नति गर्ने योजना बनाएको छ। ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तार, उच्च क्षमतायुक्त राउटर तथा डीडब्लुडीएम उपकरण जडान, माइक्रोवेभ लिंक अपग्रेड तथा वैकल्पिक लिंक विस्तारजस्ता कार्यहरू सञ्चालनमा रहेका छन्। यसबाट पूर्व-पश्चिम र उत्तर-दक्षिण करिडोरसहित सहरी, अर्धसहरी तथा ग्रामीण क्षेत्रमा भरपर्दो र उच्च क्षमताको डाटा सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ।
कम्पनीले दुर्गम क्षेत्रमा सेवा निरन्तरता कायम राख्न सम्बन्धित निकायहरूसँग समन्वय, मर्मतसम्भार सेवा व्यवस्थापन तथा पूर्वाधार संरक्षणका उपायहरू अपनाउँदै आएको जनाएको छ।




