धानखोला-लमही सडकखण्डको स्तरोन्नति गरिँदै

हिमाल प्रेस १६ वैशाख २०८३ १६:१२ | Wednesday, April 29, 2026
4
SHARES
धानखोला-लमही सडकखण्डको स्तरोन्नति गरिँदै

काठमाडौँ- एमसीए-नेपालले आज (बुधबार) पूर्वपश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्य सुरु भएको छ।

यस सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक अत्याधुनिक निर्माण प्रविधि ‘फूल डेप्थ रिक्लेमेसनर सुपरपेभ आस्फाल्ट’ प्रयोग गरिँदैछ।

यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा बनाउने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले जनाएको छ।

शुभारम्भ समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडकको गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता अत्याधुनिक प्रविधि प्रयोगको सराहना गरे। ‘यो राजमार्गमा हरेक दिननिर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो। यो सडक खण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दाे बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूका लागि नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ,’ उनले भने।

यस्तै नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्यको शुभारम्भ संयुक्त राज्य अमेरिका तथा नेपालबीचको साझेदारीका सन्दर्भमा एउटा महत्त्वपूर्ण कोशेढुंगा भएको बताए।

‘एमसीसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दैछौँ,’ उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालल यो सहकार्यले सबल पूर्वाधार निर्माण र समुदायका लागि आर्थिक अवसर विस्तार गरेको बताए। उनले यस आयोजना समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गरे।

एमसीसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्याल, एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको थालनी एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्त्वपूर्ण कदम भएको बताए।

प्रकाशित: १६ वैशाख २०८३ १६:१२ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast