दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै

हिमाल प्रेस १५ वैशाख २०८३ ६:५० | Tuesday, April 28, 2026
6
SHARES
दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै तस्बिरः रासस

काठमाडौँ- दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ। सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही नगरपालिका ५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते उत्सव हुने भएको हो।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा लाटोकोसेरो उत्सव हुन थालेको हो। किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलो पटक उत्सवको आयोजना गरिएको प्रकृतिका साथी संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए। उनका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार र चोरीसिकारी बढ्दै जाँदा यसको अस्तित्व सङ्कटमा परेको छ।

लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश पु¥याउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने र जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्यले यसअघि धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायत जिल्लामा यो उत्सव गरिएको संस्थाका निर्देशक आचार्यले बताए।

उत्सवले लाटोकोसेरोसम्बन्धी स्थानीय नागरिकलाई ज्ञानसँगै संरक्षणमा सहयोग पु¥याउने अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले बताए। ठूला र बूढा रुखको कटानी, परम्परागत घर संरचनाको कमी तथा आधुनिक निर्माण शैलीका कारण यसले सुरक्षित बासस्थान पाउन कठिन भएको उनको भनाइ छ।

दुई दिनसम्म सञ्चालन हुने उत्सवमा विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने छन् । पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा श्रव्यदृश्य सामग्रीको प्रस्तुति राखिन छ।

दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका साथै स्थानीय थारू, मगर, गुरुङ, कुमाललगायत समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता आयोजना गरिनेछ।

उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने तयारी गरिएको छ। कानुनी रूपमा लाटोकोसेरोको सिकार वा किनबेच गर्न पाइँदैन।

यदि कसैले यस्तो गरेमा रु २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ।

नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भए पनि यसको यकीन सङ्ख्या उपलब्ध छैन। विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख छ भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख अवस्थामा रहेका वन उपभोक्ता समूहका अध्यक्ष रिजालले जानकारी दिए।

सोअवसरमा स्थानीय संरक्षण पुरस्कारअन्तर्गत रासस दाङ फोटो पत्रकार कुलदीप न्यौपाने र कालिका सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका(२ देउखुरीलाई सम्मान गरिने भएको छ।
रासस

प्रकाशित: १५ वैशाख २०८३ ६:५० | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast