काठमाडौँ- आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्य बदलीसम्म रहने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदली रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
गएराति देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहेको थियो । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको थियो ।




