कैलाली- विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजाति ‘बेसरम’ झार विस्तार भएपछि तालको अस्तित्व कारण संकटतर्फ धकेलिँदै गएको छ।
नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी) का रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको महत्त्वपूर्ण सिमसार क्षेत्रको उत्तर र पूर्वी भूभाग विशेष गरी बेसरमले ढाकिँदै गएको छ। यसले तालको प्राकृतिक स्वरूपका साथै सिमसारमा निर्भर जैविक विविधता, जलचर तथा चराचुरुङ्गीको बासस्थानमा समेत असर परेको छ।
डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ वन अधिकृत दीपेन्द्र केसीले हाल घोडाघोडी ताल क्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल बेसरमले ढाकेको जानकारी दिए। उनका अनुसार यो झार तीव्रगतिमा फैलिने प्रकृतिको भएकाले समयमै नियन्त्रण नगरे अझ ठूलो क्षेत्र प्रभावित हुनसक्ने जोखिम छ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत आवश्यक बजेट विनियोजन गरी बेसरम हटाउने कार्य गरिएको वरिष्ठ वन अधिकृत केसीले उल्लेख गरे। उनका अनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले विनियोजन गरेको करिब एक लाख बजेटमार्फत बेसरम नियन्त्रण तथा हटाउने लक्ष्य राखिएको छ। ताल क्षेत्रभित्र विशेष गरी करिब दुई हेक्टर क्षेत्र अत्यन्त बाक्लो रूपमा बेसरमले ढाकेको छ।
सीमित स्रोत र बजेटका कारण यस वर्ष करिब आधा हेक्टर क्षेत्रबाट मात्रै बेसरम हटाउने योजना बनाइएको वरिष्ठ वन अधिकृत केसीले बताए। ‘अहिले समग्रमा करिब पाँच हेक्टर क्षेत्र बेसरमले ढाकिएको छ,’ उनले भने, ‘उपलब्ध बजेट र जनशक्तिअनुसार यस पटक आधा हेक्टर क्षेत्र व्यवस्थापन गर्ने लक्ष्य लिएका छौँ, तर दीर्घकालीन रूपमा पूर्ण नियन्त्रणका लागि थप लगानी र निरन्तर प्रयास आवश्यक छ।’
आर्थिक वर्ष २०८०/८१ मा तीन लाख बजेट विनियोजन करिब दुई दशमलव पाँच हेक्टर क्षेत्र सफा गरिएको थियो भने गत आर्थिक वर्षमा पाँच लाख विनियोजन भएकामा तीन हेक्टर क्षेत्रबाट बेसरम हटाइएको थियो। हरेक वर्ष झार फैलिने क्रम जारी रहेकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन।
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका व्यवस्थापक दिल धामीका अनुसार बेसरमको विस्तार निरन्तर बढ्दै गएको छ। उनले डिभिजन वन कार्यालयसँग सहकार्य गरी सफाइ अभियान सञ्चाल गरिए पनि यस वर्षको बजेट पर्याप्त नभएको बताए।
यसअघि विगतका वर्षमा सिमसार संरक्षण तथा सदुपयोग आयोजना र चरा संरक्षण नेटवर्क कैलालीले पनि बेसरम नियन्त्रणका लागि अभियान सञ्चालन गरेका थिए। तर पर्याप्त बजेट अभावका कारण ती कार्यक्रम नियमित रूपमा अघि बढ्न नसकेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए। उनका अनुसार समयमै बेसरम नियन्त्रण नगरिएमा घोडाघोडी ताल क्षेत्र विस्तारै घाँसेमैदानमा परिणत हुने जोखिम बढ्दै जान्छ, जसले सिमसारको जैविक विविधतामा गम्भीर असर पार्न सक्छ।
बेसरम जस्ता मिचाहा प्रजातिले सिमसार क्षेत्रको पानीको सतह ढाक्ने, स्थानीय वनस्पति र जलचर प्रजातिहरूलाई विस्थापित गर्ने तथा चरा वासस्थानमा प्रतिकूल प्रभाव पार्ने डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्यले बताए। यसका लागी दीर्घकालीन योजना, पर्याप्त बजेट र सरोकार भएका निकायबीच समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरे। -रासस




