फाइल तस्बिर।
काठमाडौँ- २०४२ सालमा चितवन राष्ट्रिय निकुञ्जबाट पहिलोपटक तीन वटा भाले र एउटा पोथी गैँडा बर्दिया स्थानान्तरण गरियो। त्यसको एक वर्षपछि थप पाँचवटा भाले र चारवटा पोथी गैँडा स्थानान्तरण भए।
चितवनमा मात्रै रहेको लोपोन्मुख एकसिङे गैँडा बर्दिया पनि पुग्यो भनेर संरक्षणकर्मीहरू खुसी भए। तर, त्यो खुसी धेरै टिक्न पाएन। कारण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जुन उद्देश्यले गैँडाको ‘घर’ सारेको थियो त्यो पूरा भएन। बर्दियामा गैँडाको संख्या झन् घट्यो।
वन्यजन्तु विभागको तथ्यांकअनुसार २०६० सालसम्म १८ वर्षको अवधिमा बर्दिया भएर बग्ने कर्णाली नदी आसपास १३ वटा र बबई उपत्यकामा ७० वटा गरी ८३ गैँडा स्थानान्तरण गरिएको थियो।
त्यसको प्रगति र बर्दियामा गैँडाको संख्या कति छ भनेर २०६४ जेठमा सर्भे गरियो। सर्भेमा ३० वटा गैँडा कर्णाली नदीको तटीय क्षेत्रमा भेटिए। ७० वटा छाडिएको बबईमा भने एउटा पनि भेटिएन।
त्यसको एक वर्षपछि २०६५ सालमा कर्णाली तटीय क्षेत्रमा गैँडाको संख्या २१ मा झर्यो। बबईमा भने एउटा पनि गैँडा फेला परेन।
गैँडाको संख्या घट्दै गएपछि २०७२ र २०७३ मा पुनः चितवनबाट ४ वटा भाले र ४ वटा पोथी गैँडा स्थानान्तरण गरियो।
चितवनका संरक्षणकर्मीहरू गैँडा स्थानान्तरणको विरोधमा उत्रिए। गैँडा बढ्नुको साटो घटेपछि संरक्षणकर्मीलाई चिन्ता लाग्नु स्वाभाविक थियो। उनीहरूले बर्दियाले गैँडा पाल्न सक्दैन भन्ने ‘ट्याग’ दिए। तर पनि वन्यजन्तु विभागले गैँडा स्थानान्तरण गरेरै छाड्यो।
यसरी हेर्दा पटकपटक गरेर ३१ वर्षमा चितवनबाट ९१ वटा गैँडा बर्दिया बसाइँ सरे। तर पछिल्लो गैँडा गणनाको तथ्यांकमा भने बर्दियामा जम्मा ३८ वटा गैँडा मात्रै भेटिए।
वासस्थानको चुनौती
भूगोलको हिसाबले बर्दिया राष्ट्रिय निकुञ्ज चितवनको भन्दा ठूलो छ। बाँके राष्ट्रिय निकुञ्जसमेत जोडिएकाले यहाँभित्रका जीवजन्तु आहारविहारका लागि सकेजति ठाउँमा पुग्न पाउँछन्। तर पनि बर्दिया गैँडाका लागि सुरक्षित ‘घर’ बन्न सकेन। कारण बर्दियामा गैँडाका लागि अत्यन्तै आवश्यक आहाल बस्ने घोलको संख्या कम छ।
गैँडाविज्ञ नरेश सुवेदी पनि बर्दियामा गैँडाको वासस्थानलाई मध्यमस्तरको मान्छन्। ‘बर्दिया गैँडाका लागि चितवनजस्तो मज्जाको ठाउँ होइन, मध्यम खालको हो,’ उनले भने, ‘तर झण्डै ८० देखि १०० गैँडा बर्दियाले आरामले पाल्न सक्छ।’
सुवेदी बर्दियामा गैँडाको उचित वासस्थानका लागि पानीको व्यवस्थापन, घोलहरू बनाउने, घाँसेमैदान बढाउनेजस्ता कुरामा ध्यान दिनुपर्ने बताउँछन्।
बर्दियाका तत्कालीन प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले वासस्थान व्यवस्थापनको काम प्रभावकारी रूपमा सञ्चालन भइरहेको दाबी गरे। ‘२०६५ देखि शून्य चोरी सिकार छ, अहिले राम्रो सुधार भइरहेको छ,’ उनले भने, ‘वासस्थान व्यवस्थापन पनि राम्रो हुँदै गएको छ।’
उनले गैँडाका लागि आवश्यक घाँसेमैदान, पानीको घोल सुधार, पोखरी निर्माण गरिएको बताए।
द्वन्द्वमा मारिए धेरै
१० वर्ष चलेको सशस्त्र द्वन्द्व र मध्यस्तरको वासस्थान बर्दियाका गैँडाका लागि चुनौती भएको जानकारहरूको बुझाइ छ। स्वाभाविक रूपमा २०५२ बाट १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वका कारण देश नै युद्धमा फस्यो। राज्यको ध्यान वन्यजन्तुको संरक्षण, सुरक्षाभन्दा आमनागरिकतर्फ केन्द्रित भयो।
त्यसको फाइदा तस्करहरूले उठाएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ बताउँछन्। ‘द्वन्द्वकालमा सुरक्षा पोस्ट सबै हेडक्वार्टरमा मर्ज भए,’ उनी भन्छन्, ‘परिणाम राज्यले सुरक्षा दिन नसक्दा चोरीसिकारीले धेरै गैँडा मारिए।’
गैँडाविज्ञ नरेश सुवेदी पनि बर्दियामा गैँडा घट्नुमा द्वन्द्वकाललाई नै प्रमुख कारक मान्छन्। ‘द्वन्द्वकालमा देश नै के हुने भन्ने थियो, त्यही मौकामा तस्करहरू मौलाए,’ उनी भन्छन्।
बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार २०७०/७१ सम्म चोरी सिकारबाट ३४ र प्राकृतिक कारणबाट २५ गैँडा मरेको देखिन्छ। गैँडा स्थानान्तरण गरिएको पहिलो वर्ष २०४२ देखि आव २०७०/७१ सम्म ५९ वटा गैँडा मरेको बर्दिया निकुञ्जले जनाएको छ। त्यसपछि हालसम्म प्राकृतिक कारणले १५ वटा थप गैँडा मरेका छन्।
स्थानान्तरण किन?
२०७२ मा चितवनका स्थानीय र संरक्षणकर्मीले गैँडा स्थानान्तरणको विरोध गरे। उनीहरूको प्रश्न थियो– संख्या बढ्नुको सट्टा झन् घट्छ भने किन गर्ने स्थानान्तरण? चितवनमै राखे हुँदैन?
जवाफमा गैँडा विज्ञ नरेश सुवेदी भन्छन्, ‘रिस्क म्यानेजमेन्ट (जोखिम व्यवस्थापन) गर्न।’ जोखिम व्यवस्थापनकै लागि भए पनि एकै ठाउँमा धेरै गैँडा राख्न नहुने उनको भनाइ छ।
‘महामारी, ठूलो बाढीपहिरोलगायतका विपद् आउँदा सबै गैँडा मासिने खतरा हुन सक्छ,’ उनी भन्छन्, ‘त्यसैले पनि २–३ ठाउँमा स्थानान्तरण गर्नुपर्छ।’उनका अनुसार स्थानान्तरण पहिले पनि बर्दिया, शुक्लाफाँटालगायत देशको पूर्वदेखि पश्चिमसम्म नै गैँडाको ‘रेकर्ड’ थियो। अहिले पनि ती ठाउँ गैँडाको वासस्थानका लागि उपयुक्त हुन सक्छ भनेर स्थानान्तरण गरिँदै आएको छ।





